काठमाडौं, चैत ११। काठमाडौंं महानगरपालिकाले राजधानीको भृकुटीमण्डपमा मेगा सभाहल निर्माण प्रस्ताव गर्दै आवश्यक प्रक्रिया अगाडि बढाएको छ तर समाज कल्याण परिषद्को स्वामित्वमा जग्गा रहेकोले टुङ्गो लाग्न भने अझै बाँकी छ ।
सभाहल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न समाज कल्याण परिषद्सँग छलफल गरी प्रक्रिया अगाडि बढाउन महानगरको कार्यपालिकाले निर्णयसमेत गरिसकेको छ । सभाहल निर्माण गर्ने भनिएको जग्गा समाज कल्याण परिषद्को स्वामित्वमा रहेको छ ।
भृकुुटीमण्डपको २१४ रोपनी जग्गा परिषद्को स्वामित्वमा छ ।
काठमाडौँ महानगरपालिका, भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले भृकुटीमण्डप क्षेत्रमा मेगा सभाहल निर्माणका लागि महानगरपालिकाको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै समाज कल्याण परिषद्बाट महानगरमा जग्गाको स्वामित्व हस्तान्तरण हुनेबित्तिकै निर्माण प्रक्रिया अगाडि बढ्ने जानकारी दिए।
उनले भने, “महानगरको निर्णयअनुसार समाज कल्याण परिषद्लाई यसै महिनाभित्र पत्र पठाइन्छ र त्यसपछि परिषद्ले जग्गा उपलब्ध गराउनेबारे नीतिगत निर्णय गरेपछि जग्गा अधिग्रहणबारे छलफल अगाडि बढ्छ ।” भृकुटीमण्डपको जग्गाबाट वार्षिक रूपमा हुने आम्दानीबारे यकिन तथ्याङ्क परिषद्ले महानगरलाई उपलब्ध गराएको छैन ।
परिषद्ले आफ्नो आयआर्जनको मुख्य स्रोत नै भृकुटीमण्डपको जग्गा भाडाबाट प्राप्त हुने रकम हो भन्दै आम्दानीको स्रोतको सुनिश्चितता भएमा मात्र महानगरलाई सो जग्गा उपलब्ध गराउनेबारे छलफल गर्न सकिने बताएको पूर्वाधार विकास विभाग प्रमुख थापाले बताए ।
महानगरपालिकाले भृकुटीमण्डपमा सभाहल निर्माणका लागि प्रारम्भिक अध्ययन पूरा गरिसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न बाँकी छ । जग्गा अधिग्रहणबारे समाज कल्याण परिषद्सँग टुङ्गो लागिसकेपछि डीपीआरको काम अगाडि बढाउने थापाले बताए । डीपीआर निर्माणका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा एक करोड रुपियाँ विनियोजन गरेको छ ।
सो स्थानमा तीन हजार जना क्षमताको एउटा मेगाहल हुनेछ भने एक हजारदेखि दुई हजार जना क्षमताका अन्य पाँचवटा हल निर्माण गरिने छ । त्यसैगरी २०÷२५ जना बसेर गोष्ठी छलफल गर्न मिल्ने साना–साना हलसमेत निर्माण गरिने छ । त्यसैगरी दुई हजार चार पाङ्ग्रे सवारी साधन अट्न सक्ने पार्किङस्थलसमेत निर्माण गरिने उनको भनाई छ । गोरखापत्र दैनिकबाट