Logo

भूकम्पीय सुरक्षासम्बन्धी व्यवस्था



बुटबल, ११ चैत्र । निर्माण हुने ‘हाई राइज’ भवनमा भूकम्पीय जोखिम न्यूनीकरण गर्ने दृष्टिकोणले आवश्यक डिजाइन र स्पेसिफिकेशन बनाई अनुगमनसमेत गर्ने व्यवस्था मिलाइनुपर्नेछ । सो सम्बन्धमा त्रुटि देखिएमा डिजाइनर, निर्माणकर्ता र निर्माण व्यवसायी तीनै पक्ष जिम्मेवार हुनेछ । सो सम्बन्धमा राष्ट्रिय भवनसंहिता तथा अन्य भवनसंहितामा समेत आधारित भई उपमहानगरपालिकाले निर्देशिका बनाई जारी गर्न सक्नेछ ।

सो निर्देशिका जारी भएको मितिबाट सोमा तोकिएका प्रावधानसमेत पूरा हुने गरी निर्माण कार्य गर्नुपर्नेछ । भूकम्प प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी आधारभूत तालीम लिई सूचीकृत भएको कालीगढ़ वा ठेकेदारले मात्र सुपरीवेक्षणका लागि नियुक्त भएको प्राविधिकको रोहवरमा भवन स्वामित्वकर्तासँग द्विपक्षीय सम्झौता गरी भवन निर्माण गर्न पाउने व्यवस्था मिलाइएको उपमहनगरका प्रवक्ता तथा पूर्वाधार विकास समिति प्रमुख रामप्रसाद रेग्मीले बताए ।

पुनःनिर्माण, नयाँ निर्माण, थप निर्माण र मर्मत सुधार सम्बन्धमा समेत नयाँ मापदण्ड लागू हुनेछ । यो मापदण्ड एउटै ‘प्लट’ जग्गामा निर्माण हुने धेरै भवनहरु उपर पनि लागू हुनेछ । नयाँ मापदण्डले नसमेटिएका विषयका हकमा सम्बन्धित प्राविधिक समिति (बाधा अड्काउ फुकाउ समिति) को सिफारिसमा प्रचलित राष्ट्रिय मापदण्ड र संहिताअनुसार गर्न सकिनेछ तर यसका लागि उपमहानगरपालिका बोर्डको समेत सहमति हुनुपर्ने प्रवक्ताले जानकारी दिए। रासस



प्रतिक्रिया दिनुहोस्