Logo

अझै खुल्न सकेन व्यापारिक केन्द्र ताक्लाकोटको नेपाली बजार



बझाङ, ११ चैत । साइपाल गाउँपालिका– ६ का जगत् तामाङले लामो समयदेखि नेपाल चीनको व्यापारिक केन्द्र ताक्लाकोटमा व्यवसाय गर्दै आएका छन्। पछिल्लो दुई वर्षयता ताक्लाकोटस्थित पसल बन्द गरेर उनी काठमाडौंमा छन् । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चीनमा सरकारले लकडाउन घोषणा ग¥यो । बन्दाबन्दीसँगै उहाँ पसल बन्द गरेर नेपाल फर्के ।

उनी मात्र होइन हुम्लाका तासी लामा, दार्चुलाका योगेश बोहरालगायत करीब दुई सय नेपाली व्यापारी नेपाल फर्के । उनीहरु नेपाल फर्केको झण्डै दुई वर्ष पुग्नै लागेको छ । कोभिड–१९ को महामारी शुरु भएपछि प्रभावित नेपाल–चीनको व्यापारिक केन्द्र ताक्लाकोट बजार अझै खुल्न सकेको छैन ।

ताक्लाकोटमा मुगु, डोल्पा, हुम्ला, बझाङ र दार्चुलाका गरी करीब दुई सय नेपाली व्यवसायी छन् । लामो समयदेखि बजार बन्द हुँदा नेपाली व्यापारी मर्कामा परेका परेको तामाङ बताउछन् । नेपालबाट निर्यात हुने र चीनबाट आयात भएका सामान ताक्लाकोटको गोदाममै थन्किएका छन् । महाव्याधिका कारण लामो समयदेखि सामान बिक्री गर्न नपाउँदा व्यवसायीलाई ठूलो क्षति भएको उनको भनाइ छ । उनले भने, “लकडाउन भएसँगै पसल बन्द गरेर नेपाल आइयो । अहिलेसम्म खोल्न पाएको छैन ।” पसल सञ्चालन गर्न त्यहाँको सरकारले नेपालीलाई ताक्लाकोटमा प्रवेश गर्न दिएको छैन । ताक्लाकोट जान नपाउँदा आफूहरु मर्कामा परेको उनी बताउछन् ।

अहिले पनि समयसमयमा केरुङ, तातोपानी नाका खुल्ने र बन्द हुने गरेका छन् । नेपाल सरकारको कूटनीतिक प्रयास प्रभावकारी नभएकाले दुई देशबीचको व्यापार बढ्न सकेको छैन । सङ्घीय सरकारले नाका सञ्चालनका लागि कूटनीतिक पहल नगर्दा आफूहरु मर्कामा परेको ताक्लाकोटमै व्यवसाय गर्दै आउनुभएका दार्चुलाका बोहरा बताउनुहुन्छ । उनी भन्छन्, “चीनले अन्य मुलुकसँग व्यापार अघि बढाइरहेको छ तर नेपाली नाकालाई अझै पनि खुल्न दिएको छैन । ताक्लाकोटमा पनि चीनतर्फका बजार खुलेका छन् । नेपालतर्फको बजार मात्र बन्द छ । चिनियाँलाई नेपाली बजारमा जान र नेपालीलाई बजार खोल्न निषेध गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्