काठमाडौं, ११ चैत्र । काठमाडौं क्षेत्र नम्बर १ (क ) का प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको अग्रसरतामा ओलम्पिया स्कुलले सरकारी जग्गा कब्जा गरेर बनाएको संरचना हटाइएको छ । आफ्नो क्षेत्रमा रहेका सार्वजनिक र सरकारी जग्गामा भएको अतिक्रमण हटाउने अभियान सञ्चालन गरेर श्रेष्ठले पटक-पटक ताकेता गरेपछि काठमाडौंको बबहरमहलस्थित ओलम्पिया स्कुलले सरकारी जग्गा मिचेर बनाएको दुई तले भवन भत्काएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ११ को बबहरमहल धोबीखोला करिडोरमा किङ्स कलेजसँगै सञ्चालनमा रहेको ओलम्पिय स्कुलको संरचना भत्काउन श्रेष्ठ आफैं खटिएका थिए । राजनीतिसँगै समाजसेवा र सार्वजनिक र सरकारी जग्गा संरक्षणको अभियानमा लागेका श्रेष्ठको जोडबलमा ओलम्पिया स्कुलले कब्जा गरेको सार्वजनिक जग्गामा बनेको संरचना हटेको स्थानीय वासिन्दाहरू बताउँछन् ।
सांसद श्रेष्ठले ओलम्पिया स्कुलले कब्जा गरेको उक्त जग्गामा पार्क निर्माण गरेर सार्वजनिक प्रयोगमा ल्याउने तयारी भइरहेको बताए । पार्क निर्माणका लागि सांसद विकास कोषबाट आवश्यक बजेट उपलब्ध गराइने उनको भनाई छ ।