काठमाडौं, चैत १२ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको बुधवार १ वर्ष पूरा भएको छ । यस बीचमा सबैभन्दा बढी साना तथा मझौला व्यवसायी मारमा परेका छन् । यस्ता व्यवसायीहरू सम्पूर्ण रूपमा एउटै व्यवसायमा आबद्ध हुने हुँदा अन्य आम्दानीको स्रोत पनि नहुने भएकाले बढी मारमा पर्ने गरेको सरोकारवालाहरूले बताएका छन् ।
अहिले बन्दाबन्दी छैन तर त्यसले आफूहरूलाई अझै पनि असर गरिरहेको व्यवसायीहरूको भनाइ छ । सामान्य हिसाबमा हेर्दा बजारमा चहलपहल बढेको देखिए पनि त्यसले समग्र व्यापार व्यवसायमा भने सकारात्मक प्रभाव पार्न भने सकेको छैन । साना तथा मझौला व्यवसा
यीहरूको संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बन्दाबन्दीका कारण साना तथा मझौला व्यवसायीहरू नै सबैभन्दा बढी मारमा परेको बताए ।
उनका अनुसार बन्दाबन्दी खुलेपश्चात् पनि व्यापारीहरूले आयात गर्न लागेका सामानहरू १० महीनासम्म नाकामा थन्कीएर रहँदा कतिपय सामानहरूको सिजन अफ भयो, जसले गर्दा व्यापारीहरूले ठूलो क्षति वेहोर्नु पर्यो । बन्दाबन्दीका कारण उपभोक्ताको आम्दानी घटेकाले उपभोगमा समेत कमी आई हालसम्म पनि व्यापारमा सुधार आउन सकेको छैन । बन्दाबन्दीको असरका कारण करीब ५ प्रतिशत साना तथा मझौला व्यवसायी पलायन भएका र अधिकांशले पेशासमेत परिवर्तन गरेका अध्यक्ष कटुवालले जानकारी दिए ।
‘बन्दाबन्दीपश्चात् पूर्णरूपमा नगद कारोबार गर्न सक्नेले मात्र व्यापार गरेका छन् । अहिले बाँकी राखेर व्यापार चल्ने अवस्था छैन, जसले गर्दा साना व्यवसायीहरू पलायनको अवस्थामा पुगेका छन्,’ उनले भने ।
संघको तथ्यांकअनुसार बन्दाबन्दीका समयमा काठमाडौं उपत्यकामा मात्र व्यापारिक प्रयोजनका लागि प्रयोग भइरहेका करीब ४० प्रतिशत सटर खाली भएका थिए । अहिले ती सटरमा न नयाँ व्यवसायी आएका छन् तर व्यापारको अवस्था भने नसुध्रिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।