काठमाडौं, चैत १२ । राष्ट्रपति विद्यादेवी भण्डारीको दुईदिने राजकीय भ्रमणसँगै बंगलादेशसँगको द्विपक्षीय सम्बन्ध थप गाढा भएको छ। राष्ट्रपतिको भ्रमणका क्रममा भएका महत्वपूर्ण समझदारीसँगै बंगलादेश हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न बाटो खुलेको छ। नेपाल–भारत–बंगलादेश त्रिदेशीय व्यापार सहकार्यको सुविधासमेत प्राप्त भएको छ।
सम्झौताअनुसार नेपालले अब आयातीत सामान बंगलादेशको रोहनपुरबाट रेलमार्ग हुँदै भारतको पश्चिम बंगालस्थित सिंहबादसम्म ल्याउन सक्छ। सिंहवादबाट सिलीगुडी र सिलीगुडीबाट काँकडभिट्टा हुँदै विराटनगरको आईसीडीसम्म ल्याउन सकिने। ‘रोहनपुर–सिंहवाद रुट सुविधाका कारण सामान ढुवानी गर्दा लाग्ने समय र ढुवानी दुवैमा बचत हुनेछ’, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले भने। भारतको कोलकाता बन्दरगाहबाट सामान आयात गर्दा ढुवानी र समय बढी लाग्ने गरेको छ।
सचिव भट्टराईका अनुसार रोहनपुरबाट सिंहवादसम्म अतिरिक्त रेलवे सुविधा मार्ग र तेस्रो मुलुकसँग व्यापार गर्न ‘को ट्रान्जिट रुट’का लागि सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो। नेपाल–बंगलादेश पारवहन सम्झौता संशोधनमार्फत रोहनपुर–सिंहवाद रुट थप गरी सहमतिपत्र आदानप्रदान गरिएको सचिव भट्टराईको भनाइ छ।
‘यो मार्गबाट पहिलेदेखि सामान्य रूपमा व्यापारिक गतिविधि भए पनि अहिलेको समझदारीपश्चात् रोहनपुर–सिंहवाद रुट प्रयोग गरी नेपाली वस्तु सहजै बंगलादेशको बजारसम्म पुर्याउन सक्षम भएका छौं’, भट्टराईले भने, ‘हाम्रो मौलिक उत्पादन बंगलादेशसहित तेस्रो मुलुकसम्म पुर्याउने सवालमा महत्वपूर्ण समझदारी भएको हो।’ उनका अनुसार यो मार्ग सदुपयोग गर्न भने भौतिक पूर्वाधार, भन्सार, सवारीसाधन, झन्झटिलो प्रक्रियालगायत विषयमा द्विपक्षीय छलफल गर्न बाँकी छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट