खलङ्गा, १२ चैत: जुम्लाको तातोपानी गााउँपालिकास्थित हिँयाखोलामा सामूूहिक स्याउखेती गरिने भएको छ । यसका लागि करिब १९ हेक्टर जमिनमा साढे पाँच हजार स्याउका बिरूवा रोपिएको छ ।
जिल्लामा पछिल्लो सयमा सामूहिक स्याउखेतीमा त्यहाँका किसान आकर्षित भएका छन् । परम्परागत खेती प्रणालीले उत्पादन राम्रो नभएपछि किसानले सामूहिक लगानीमा स्याउखेती गर्न थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ सुपरजोन कार्यालयका प्रमुख नमराज भण्डारीले जानकारी दिए ।
उनले भने, “तातोपानी –६ हिँयाखोलाका किसान मिलेर नमूना स्याउ बगैँचा बनाउन जुटेका छन् । त्यहाँ एक लाख ९० हजार वर्गमिटर (१९ हेक्टर) क्षेत्रफलमा साढे पाँच हजार स्याउका बिरुवा रोपिएको छ ।”
सो जमिनमा यसअघि गहुँ र जौ लगाउने गरिएको थियो । परम्परागत खेतीले आम्दानी नभएपछि अहिले स्थानीयवासी त्यहाँ सामूहिक स्याउखेतीमा आकर्षित भएको कार्यालयले जनाएको छ । समूहमा मिलेर खेती गर्दा लगानी र संरक्षणमा सहज हुने भएकाले सामूहिकरूपमा स्याउखेती शुरुआत गरिएको स्थानीयवासी देवीकन्या खड्काले बताए । हिँयाखोलामा रोजगारीका अवसरसमेत छैनन् । बेरोजगार युवालाई समेत रोजगारी सिर्जना गर्नेगरी सामूहिक स्याउ कृषिमा आफूहरू जुटेको उनले जानकारी दिए। उनले भने, “गाउँ शैक्षिक र आर्थिक हिसाबले पनि निकै पछाडि छ, गाउँमा एक जना पनि निजामती कर्मचारी छैनन् । सबै बेरोजगार छन् । कमाउने कुनै स्रोत छैन । अब यस बगैँचाले सिङ्गो गाउँको जीवनस्तर उठ्नेदेखि व्यवसायतर्फ स्थानीयवासीलाई अघि बढ्नमा मद्दत पुग्ने छ ।”
अहिले गाउँका अधिकांश युवा मजदुरीका लागि भारत जाने गरेका छन् । मालिका स्याउ उत्पादन समूहका अध्यक्ष जनक खड्काले भने, “स्याउ किसानले स्याउखेतीबाटै आत्मनिर्भर बन्ने योजनाप्रति स्थानीय सरकारदेखि स्याउ सुपरजोन कार्यालयको पनि साथ छ ।”
ठूलो क्षेत्रफलमा फैलिएको हिँयाखोलामा समुदायस्तरबाटै नमूना स्याउ बगैँचा बनाउने स्थानीयवासीको प्रयासलाई स्याउ सुपरजोनले बिरुवामा ५० प्रतिशत अनुदान दिएको छ । घेराबारका लागि रु २० लाख अनुदान दिएको छ । गाउँपालिकाले घेराबार र बिरुवा संरक्षणका लागि रु पाँच लाख बजेट दिने घोषणा गरेको उनले बताए ।
सो बगैँचाको घेराबारका लागि रु ३९ लाख खर्च हुने अनुमान गरिएको परियोजनाले जनाएको छ । उनले भने, “समुदायस्तरबाट यति ठूलो क्षेत्रफल र लगानीमा स्थानीय जातको स्याउ बगैँचा कतै पनि छैन ।”
स्याउ बगैँचा पर्यटकीय दृष्टिले समेत राम्रो रहेको परियोजनाले जनाएको छ । सामूहिक कृषि खेती गर्नस्थानीय सरकारले आवश्यक सहयोग गर्ने गाउँपालिका अध्यक्ष नवराज न्यौपानले जानकारी दिए । कृषि क्षेत्रमा किसानलाई आत्मनिर्भर बनाउनका लागि किसानसँग सहकार्य गरी अघि बढ्ने गाउँपालिका उपाध्यक्ष गङ्गादेवी उपाध्यायले बताए । परियोजनले त्यहाँको चन्दननाथ नगरपालिका–९ मा १०० ओखरको सामूहिक खेती गरेकोे जनाएको छ । जिल्लामा सो परियोजना कार्यान्वयनमा आएपछि स्याउ र ओखरखेतीमा लागेका किसानलाई प्राविधिक ज्ञान र सीपमूलक तालिम सञ्चालन भइरहेको छ ।-रासस/File Photo