मोरङ, १२ चैत: राष्ट्रिय जनगणना–२०७८ गुणस्तरीय बनाउन प्रदेशस्तरीय प्रशिक्षक तालीम यहाँ शुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभाग काठमाडौँद्वारा आयोजित यही चैत १५ गतेसम्म सञ्चालित तालीममा प्रदेशका १० जिल्ला (साविक मेची अञ्चलका चार जिल्ला बाहेक) का शिक्षक तथा शिक्षा कार्यालयका १७२ कर्मचारीको सहभागिता छ ।
विसं २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुने १२औँ राष्ट्रिय जनगणनाका लागि घरदैलामा खट्ने गणकलाई प्रशिक्षण दिन प्रशिक्षक तालीम आयोजना गरिएको हो ।
तालीममा सहभागीलाई सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइने छ । प्रशिक्षितले आफ्ना जिल्लामा जेठ १७ देखि २२ गतेसम्म सुपरीवेक्षक र गणकलाई प्रशिक्षण दिने छन् । प्रदेश नं १ का प्रमुख सचिव एवं प्रदेश जनगणना समन्वय संयोजक सुमनराज अर्यालले जनगणना गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै सत्यतथ्य सूचना सम्प्रेषणबाट मुलुकको राजनीति, विकास, वित्तीय क्षेत्रमा प्रभाव पर्ने बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले धर्म, जात, अपाङ्गता, विकास जस्ता विषयको समावेशी नीतिनिर्माणमा महत्वपूर्ण भूमिका हुनाले सही तथ्याङ्क सङ्कलन आवश्यक रहेको बताए ।
केन्द्रीय तथ्याङ्क विभागका निर्देशक गणेशराज अर्यालले सामाजिक, वातावरण र घरसमेत गरी तल्लो तह यस वर्ष जनगणनामा समावेश गरिने जानकारी दिए ।
प्रदेशका ६० स्थानीय तहमा जनगणना कार्यालयको स्थापना गरिएको प्रदेश जनगणना कार्यालयका प्रमुख तीर्थराज बरालले जानकारी दिए । राष्ट्रिय जनगणना –२०७८ मा ७७ जिल्लाका ८७ कार्यालयमा ५० हजार जनशक्ति एवं रु चार अर्ब खर्च हुने अनुमान गरिएको छ ।
सात स्थानीय कार्यालय स्थापना
भरतपुर– राष्ट्रिय जनगणनाको तयारी तीव्र पारिएको छ । यही चैत १ गतेदेखि जिल्ला जनगणना कार्यालय स्थापना गरी तयारीलाई तीव्र पारिएको हो । चितवनसहित नवलपरासी पूर्व र पश्चिम कार्यक्षेत्र रहेको कार्यालयमा जनगणनाका लागि ८९५ गणक र २०३सुपरिवेक्षकको दरबन्दी प्राप्त भएको छ । उनीहरुलाई तालीम दिन जिल्लामा तीन महिलासहित ३४ गणक प्रशिक्षक खटाइँदैछ ।
चितवनमा सात स्थानीय जनगणना कार्यालय रहनेछन् । सोअन्तर्गत भरतपुर, गीतानगर, चनौली, माडी, टाँडी जुटपानी र भण्डारामा कार्यालय रहनेछ । भरतपुर महानगगरपालिकामा तीन तथा माडी, रत्ननगर, राप्ती र कालिका नगरपालिकामा एकएक कार्यालय स्थापना गरिने जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले जानकारी दिए ।
इच्छाकामना गाउँपालिका क्षेत्रलाई जुटपानी जनगणना कार्यालयले हेर्नेछ । सातै स्थानमा स्थानीय जनगणना समन्वय समिति गठन गर्ने तयारीमा रहेको उनले बताए । समितिका प्रमु्खमा स्थानीय जनगणना अधिकारी रहने व्यवस्था छ । राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश– २०७६ बमोजिम चितवनमा जिल्ला जनगणना समन्वय समिति गठन गरिसकिएको छ ।
प्रमुख जिल्ला अधिकारीका संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो जसमा प्रमुख कोष नियन्त्रक, प्रमुख प्रहरी उपरीक्षक, शिक्षा एकाइ प्रमुख, महानगरपालिकाका अधिकृतस्तरका कर्मचारी, जिल्ला समन्वय अधिकारी र जिल्ला जनगणना अधिकारी सदस्य सचिव रहने व्यवस्था छ ।
गणनाका लागि आवश्यक सामग्री चितवनमा आइसकेको र भण्डारण गरिएको जिल्ला जनगणना अधिकारी भण्डारीले जानकारी दिए । गणनाका लागि जिल्लाका सबै स्थानीय निकायमा पत्राचार गरिसकिएको उनले बताए ।
विसं १९६८ देखि प्रत्येक १०÷१० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना २०७८ मा छुट्टै महत्वको हुनेछ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ १५ दिन राष्ट्रिय जनगणनाको मिति तय गरिएको छ । कोही नछुटोस्, कोही नदोहरियोस् भन्ने उद्देश्यले सबैका घरमै पुगेर गणना गरिँदैछ । यसअघि २०५८ र २०६८ मा पूर्णगणना विधि र नमूना छनोट विधिबाट जनगणना गरिएको थियो ।
यसपटक भने पूर्णगणना विधिबाट जनगणना हुनेछ । “विगतमा बहुविधिबाट जनगणना हुन्थ्यो । यसपटक एकल विधिबाट जनगणना गर्दैछौंँ”, जनगणना अधिकारी भण्डारीले भने, “पहिले आठ घरमध्ये एक घर हुन्थ्यो भने यसपटक सबै घरमा पुगेर जनगणना गरिनेछ ।”
पारिवारिक विवरण तथा घरपरिवारको सूचीकरण सुपरीवेक्षकले स्थानीय तहमा पुगेर सङ्कलन गर्नेछन् । यो काम आगामी वैशाख २६ देखि जेठ १८ गतेसम्म हुनेछ । मुख्य प्रश्नावलीका लागि गणक घरघरमा पुग्नेछन् । जनगणनामा घरधनी बसोबास नगर्ने घर÷भवन÷मल पनि समेटिँदैछ ।
अर्को सामुदायिक प्रश्नावली मुख्य जनगणनाको अवधिमा भरिनेछ । सुपरीवेक्षकले नै सामुदायिक प्रश्नावली भराउनेछन् । गाउँ र शहर छुट्ट््याउने गरी प्रश्नावली तयार गरिएको छ ।
प्रविधिको प्रयोग
गलकोट–बागलुङमा जिल्ला जनगणना कार्यालय स्थापना गरी आवश्यक तयारी शुरु गरिएको छ । अहिले गणक तथा सुपरीवेक्षक भर्ना गर्नका लागि आवेदन माग भएको कार्यालयले जनाएको छ । बागलुङमा जनगणना गर्न ४०६ गणक र १०० सुपरीवेक्षक परिचालन गरिने छ । जनगणनाका लागि कार्यालय स्थापनासँगै आवश्यक तयारीलाई तीव्रता दिइएको तथ्याङ्क कार्यालय बागलुङका प्रमुख जनगणना अधिकारी मुकुन्दप्रसाद शर्माले जानकारी दिए । शर्माले भने “१० वर्षअघिको जनगणनाभन्दा अहिलेको जनगणना केही वैज्ञानिक र व्यावहारिकसमेत छ, जसका कारण सरकारलाई जनताको हरेक योजना बनाउन सहज होस् ।”
प्रशिक्षकले गणक र सुपरीवेक्षकलाई तालीम दिएपछि गणना गर्न शुरु गरिने शर्माको भनाइ छ । उनका अनुसार अहिलेको गणनामा सहयोग पु¥याउने गरी तालीम दिन १८ प्रशिक्षकलाई पोखरा पठाइएको र उनीहरुले एक हप्ताको तालीम लिएपछि जिल्लामा छनोट भएका गणक र सुपरीवेक्षकलाई तालीम दिनेछन् ।
जनगणनालाई सहज तुल्याउन जिल्ला जनगणना कार्यालयले जिल्लाका चार स्थानमा स्थानीय जनगणना कार्यालयसमेत स्थापना गर्ने तयारीमा रहेको जिल्ला जनगणना अधिकारी शर्माको भनाइ छ ।
भौगोलिक कठिनाइका कारण अनुगमन, सामग्रीको सहजतालगायतलाई ध्यानमा राखेर जिल्लाका १० स्थानीय तह हेर्ने गरी चार स्थानमा स्थानीय जनगणना कार्यालय स्थापना गरिने छ । बरेङ गाउँपालिका र जैमिनी नगरपालिका हेर्ने गरी जैमिनी, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका हेर्ने गरी बागलुङ, ताराखोला गाउँपालिका तथा बडिगाड र गलकोट नगरपालिका हेर्ने गरी गलकोट तथा तमानखोला र निसीखोला गाउँपालिका एवं ढोरपाटन नगरपालिका हेर्ने गरी ढोरपाटनमा वैशाख १ गतेदेखि कार्यालय स्थापना गरिनेछ ।
उनले भने, “अहिलेको जनगणनामा केही मात्रामा प्रविधिकोसमेत प्रयोग गरिने छ, जनगणना दुई चरणमा समेत हुनेछ ।” अहिले जनगणनाको सामग्री ल्याउने तयारीमा कार्यालय रहेको उनको भनाइ छ । अनलाइनमार्फत गणक र सुपरीवेक्षकका लागि आवेदन खुलाएको थियो ।
त्यसैका आधारमा योग्यता, स्थानीयवासीलगायतलाई ध्यानमा राखी गणक र सुपरीवेक्षक छनोट गरिने जिल्ला गणना कार्यालयले जनाएको छ । गणकका लागि न्यूनतम कक्षा १२ र सुपरीवेक्षकका लागि स्नातक उत्तीर्ण भएको हुनुपर्ने छ ।
दुई चरण
अहिलेको जनगणना २०६८ सालको भन्दा केही फरक हुने छ । दुई चरणमा हुने जनगणनाका लागि प्रत्येक घर पुग्न कार्यालयले जिपिएस प्रविधिमार्फत नक्शा निर्माण गरेर गणकलाई घरघरमा पठाउनेछ ।
शुरुमा सुपरीवेक्षक प्रत्येक घरमा पुग्ने र सूचीकरण गर्ने काम हुनेछ । घरको मुख्य मानिससँग परिवारको अवस्था, गाईवस्तु तथा अनुदान पाए–नपाएको विवरण सङ्कलन गरिनेछ । जिल्लामा १०० सुपरीवेक्षकले घरमै पुगेर १५ दिनभित्रै प्राथमिक तथ्याङ्क सङ्कलन गरी आउनेछन् । सो अभियान वैशाख २५ गतेदेखि शुरु गरिनेछ ।
त्यस्तै सूचीकरणको आधार र जिपिएस नक्शाका आधारमा गणक प्रत्येक घरघरमै पुग्नेछन् । सुपरीवेक्षकले सङ्कलन गरेको प्राथमिक तथ्याङ्कका आधारमा गणकले प्रत्येक घरमा ८० प्रश्नको उत्तर सङ्कलन गरी फर्कने गणना कार्यालयले जनाएको छ । गणकलाई एक महिनाको समय दिइएको छ ।
जनगणनाको प्राथमिक तथ्याङ्क गणना सकेको छ महिनामै आउने छ । अहिले सरकारले महानगरपालिका र उपमहानगरपालिकामा ट्यापको माध्यमबाटै तथ्याङ्क सङ्कलन गर्नेछ भने नगरपालिका र गाउँपालिकामा कागजी फर्म भर्नुपर्ने छ । अहिलेको जनगणनामा जन्म, मृत्यु, बसाइँसराइका साथै मातृ मृत्युदरका विषयमा समेत जानकारी लिइने छ । असी प्रश्नावली रहेको गणनामा परिवारको सबै विवरण आउने छ ।
गणकद्वारा प्रत्येक घरधुरीमा पुगेर मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु बसाइँसराइलगायत विवरण सङ्कलन गरिनेछ । दोस्रो चरणअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोतसाधन, पहुँच, क्षमता पूर्वाधार र विपद्सम्बन्धी विवरण सङ्कलन गरिनेछ ।
घर तथा घरपरिवार सूचीकरण फाराम आगामी वैशाख २६ देखि जेठ १४ र मुख्य प्रश्नावली जेठ २५ देखि असार ८ गतेसम्म विवरण भर्ने व्यवस्था छ ।
विसं २०६८ को जनगणनानुसार बागलुङ जिल्लाको जनसङ्ख्या दुई लाख ६८ हजार ६१३ छ । नमूना जनगणनालाई प्रश्नको विषय, समय तथा गणकको सङ्ख्याको आधार मानिएको छ । जनगणनाको मुख्य आधार जन्म, मृत्यु र बसाइँसराइ छ ।-रासस