बाजुरा, १२ चैत्र । तामाको तार चोरी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । गौमुल गाउँपालिका-१ पोखरास्थित नेपाल टेलिकमको टावरबाट करिब ५२ किलोग्राम तौल भएको तामाको तार चोरी भएको घटनामा संलग्न रहेको आभियोगमा आछाम, सांफे नगरपालिका–१३ बस्ने ३० वर्षीय सुरेन्द्र बाब्ली र बाजुरा बुढिगंगा नगरपालिका–६ फालसैनस्थित ग्रिल उद्योगमा काम गर्ने भारत पिलिभित मैनाली घर भएका १९ वर्षीय तटसिर रजरनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
त्रिवेणी नगरपालिका–३ स्थित नेपाल टेलिकमको टावरमा रहेको तामाको तार काटीरहेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मौरेबाट खटिएको प्रहरीले सुरेन्द्र बाब्लीलाई पक्राउ गरेको हो । थप अनुसन्धान गर्ने क्रममा उनले बाजुरा गौमुल गाउँपालिका–१ पोखरास्थित नेपाल टेलिकमको टावरमा रहेको तामाको तार चोरी गरी तटसिर रजरनलाई बिक्री गरेको भनी खुल्न आएपछि तटसिर समेतलाई प्रहरीले पक्राउ गरेको हो ।
साथै तटसिरको डेराबाट चोरी भएको तामाको तार समेत प्रहरीले बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।