Logo

राजश्व छलि सूर्तिजन्य पदार्थ कारोबार गर्ने दुई जना पक्राउ



काठमाडौं, १२ चैत्र । राजश्व छलि सूर्तिजन्य पदार्थ कारोबार गर्ने दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । राजश्व छलि गरी सूर्तिजन्य पदार्थको कारोबार गरेको अभियोगमा काठमाडौं कोटेश्वरबाट २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा कोटेश्वर बस्ने महोत्तरी गौशला नगरपालिका–२ का ४४ वर्षीय मदन साह रौनियार र काठमाडौं कुमारीगाल बस्ने भारत जेजौली घर भएका ४५ वर्षीय श्रवन कुमार सिंह रहेका छन् ।

नेपाल तथा भारतमा तयार गरेका सूर्तिजन्य पदार्थ लगायतका सामानहरु भन्सार एवम् राजश्व छलि गरी ल्याई कोटेश्वर एवम् कुमारीगाल लगायतका स्थानमा गोदाममा भण्डारण गरी कारोबार गर्ने गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुमध्ये रौनियारलाई करिब ७ लाख ९० हजार रुपैयाँ बराबरको पानमसला, सूर्ति, राजनिवास लगायतका सूर्तिजन्य पदार्थ सहित काठमाडौं कोटेश्वरबाट र श्रवनलाई करिब ८ लाख रुपैयाँ बराबरको शुद्धप्लस, रजनिगन्धा सूर्ति लगायतका पदार्थ सहित कुमारीगालबाट प्रहरीले बरामद गरी पक्राउ गरेको बताएको छ ।

दुवै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको उक्त महाशाखाले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्