Logo

कुलेखानी–सिस्नेरी पम्प स्टोरेजको सर्वेक्षण गर्न अनुमति



काठमाडौं, चैत १३ । नेपाल विद्युत् प्राधिकरणले मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर बनाउने भनेको १०० मेगावाटको पम्प स्टोरेज प्लान्टको सर्वेक्षण गर्न विद्युत् विकास विभागबाट अनुमति पाएको छ । विभागले गतहप्ता उक्त क्षमता बराबरको कुलेखानी–सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजनाको अध्ययन गर्न प्राधिकरणलाई अनुमति दिएको हो ।

प्राधिकरणले उक्त आयोजनाको सर्वेक्षण गर्ने अनुमति माग्दै गत पुसमा विभागमा आवेदन दर्ता गरेको थियो । त्यसपछि विभागले आवश्यक अध्ययन तथा प्रक्रिया पूरा गरेर प्राधिकरणलाई उक्त आयोजनाको सर्वेक्षण गर्ने अनुमति दिएको हो । विभागका महानिर्देशक नवीनराज सिंहले उक्त आयोजनाको सर्वेक्षणका लागि अनुमति दिएको बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि आयोजना सर्वेका लागि अनुमति प्राप्त गरेको बताए । तत्काल आयोजनाको सर्वेको काम अगाडि बढाइने उनको भनाइ छ । ‘अब दुई–अढाई महीनामा नै सर्वेक्षणको काम सकिन्छ । साथै, ९ महीनासम्म वातावरणीय अध्ययन पनि सकिन्छ,’ उनले भने, ‘त्यसपछि लगानी जुटाउने तथा आयोजना निर्माणसम्बन्धी काम गर्छौ ।’ अनुमतिपत्रको म्याद २ वर्ष रहेको छ ।

म्याद थप गरेर बढीमा ५ वर्षसम्ममा म्याद दिन सकिन्छ । त्यसअनुसार प्राधिकरणले बढीमा ५ वर्षभित्र नै आयोजनाको सर्वेक्षण गरेर विभागमा निर्माण अनुमतिपत्रका लागि आवेदन दिनुपर्ने हुन्छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्