Logo

एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने गोरखाका थापा पक्राउ



ललितपुर, १३ चैत्र । एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने भेष बहादुर थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ललितपुरको खुमलटार र बिशालचोकस्थित दुई वटा बैंकको एटिएम फुटाई नगद चोरी गर्न खोजेको अभियोगमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका–५ घर भएका ३० वर्षीय भेष बहादुर थापा पक्राउ परेका हुन् ।

ललितपुर महानगरपालिका–१४ खुमलटारस्थित ग्लोबल आईएमई बैंकको एटिएम गत फागुन २८ गते राति र सोही ठाउँ बिशालचोकस्थित सांग्रीला डेभलपमेन्ट बैंकको एटिएम चैत ९ गते फुटाई नगद चोरी गर्न खोज्ने कार्यमा संलग्न उनलाई ललितपुर महानगरपालिका–१४ ताल्छीखेलस्थित वर्कशपबाट घटनामा प्रयोग भएको बा.३५ प ६१५७ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीमाथि चोरी उद्योग सम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्