डोटी, चैत १४ । भारतमा कोरोना सङ्क्रमण बढेपछि अहिले त्यहाँ कामका लागि गएका जिल्लावासी दिनहुँ गाउँ फर्किन थालेका छन् । भारतबाट रोजगारी घर फर्किँदै गरेका नागरिकबाट कोरोना सङ्क्रमण नआओस् भन्दै जिल्लाका नौवटै स्थानीय तह सजग भएर लागेका छन् ।
भारतबाट घर आएका नागरिकलाई राख्नका लागि यहाँका सबै स्थानीय तहमा क्वारेन्टिन निर्माण भइरहेका छन् भने स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयमा अनिर्वाय रहन निर्देशनसमेत दिइएको छ ।
जिल्लामा कोरोना महामारीको फैलिन नदिन तथा रोकथामका लागि जिल्लाको जोरायल गाउँपालिकाले अत्तरिया–स्याउले जोड्ने सुदूरपश्चिमका पहाडी जिल्लाको एक मात्र भीमदत्त राजमार्गको बुडरमा यात्रुको दिनहुँ स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क स्थापना गरेको छ ।
जोरायल–२ छतिवनको बुडरमा उक्त हेल्थ डेस्कको सुदूरपश्चिम प्रदेश सरकारको सहयोग तथा गाउँपालिकाको समन्वयमा स्थापना गरिएको हो । प्रदेशका नौ जिल्लामध्ये सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा स्थापना गरिएको हेल्थ डेस्कले प्रभावकारी स्वास्थ सेवा दिने अपेक्षा गरिएको छ ।
विगतमा यहाँका सरकारी स्कूलमा स्थापना गरिएका क्वारेन्टिन भवन स्वास्थ्य सामग्रीसहित अहिले पुनः तयारी अवस्थामा राखिएका छन् । भारतबाट रोजगारी गरेर घर आउने नागरिकलाई अनिवार्यरूपमा १४ दिन क्वारेन्टिनमा बस्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षतामा यही चैत १२ गते बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम एवं सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले भारतबाट रोजगारी गरी घर फर्किएका तर क्वारेन्टिनमा नबस्ने नागरिकलाई कारवाही गरिने निर्णयसमेत गरेको छ ।
होलीलगायत सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण चाड विशुपर्व मनाउन र कोभिडको बढ्दो सङ्क्रमणका कारण भारतबाट मानिस नेपाल फर्कने क्रम बढेकाले उच्च सतर्कता अपनाउनुपर्ने र सम्भावित जोखिम न्यूनीकरणका लागि सबैले सजग एवं संवेदनशील भई तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइसाथ पालना गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।
सुदूरपश्चिम प्रदेशका सीमानाका कञ्चनपुरका गड्डाचौकी, त्रिनगर, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रबाट भारतदेखि घर फर्किनेको सीमानाकामा भीडभाड बढ्न थालेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार विगत १० दिनको अवधिमा सुदूरपश्चिममा कम्तीमा आठ हजारभन्दा बढी नेपाली नेपाल भित्रिएका छन् ।
भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरले भारतसँग सीमा जोडिएका बैतडी, दार्चुला, कैलाली तथा कञ्चनपुरसहितका चार जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको जनाएको छ । रासस