Logo

एकै दिन दुई झोलुङ्गे पुल उद्घाटन



कास्की, चैत १४ । मादी गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण गरिएका छन्। वडा नम्बर ३ र ११ जोड्ने गरी इदीखोला ओल्मा झोलुङ्गे पुल तथा वडा नम्बर ११ को सैमराङ र तासे जोड्ने बुम्लेखोला झोलुङ्गे पुलको शुक्रबार गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ ९श्याम०ले उद्घाटन गरे।

इदीखोला ओल्मा पुलले दुई वडा जोड्ने भएकाले पुल बनेसँगै दुवै वडाका स्थानीयवासी उत्साहित बनेका छन्। पुलले वारपार गर्न सहज बनेको र समयको बचत भएको स्थानीयको भनाइ छ। पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय झोलुङ्गे पुल निर्माण भएपछि हर्षित भएको सोही वडाध्यक्ष मित्रप्रसाद गुरुङले बताए।

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट आयोजना स्वीकृत भई गाउँपालिकाबाट निर्माण गरिएको हो। इदीखोला ओल्मा झोलुङ्गे पुल जनश्रमदानसहित कुल ३८ लाख ४९ हजार ६९७ र बुम्लेखोला झोलेङ्गे पुल जनश्रमदानसहित ३६ लाख ९५ हजार ८०८ रुपैयाँ लागतमा निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिए।

गाउँपालिका अध्यक्ष गुरुङले गाउँका जनताको पीर, मर्का बुझ्ने, दुःखमा साथ दिने गरी जनताको घरदैलोको सरकार अघि बढेको बताए। जनप्रतिनिधि निर्वाचित भएर आएपछि सडक, मोटरेवल पुल, झोलुङ्गे पुल, वडा कार्यालय भवनलगायतका पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखेर आफूहरुले काम गरिरहेको उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस्