Logo

चार हजारभन्दा बढी पदपूर्ति प्रक्रिया ठप्प



काठमाडौं, चैत १५ । लोकसेवा आयोग पदाधिकारीविहीन भएपछि निजामतीका प्राविधिक तथा प्रशासनिक सेवाका ४ हजारभन्दा बढी कर्मचारीको पदपूर्ति प्रक्रिया ठप्प भएको छ।

आयोगले सात महिनाअघि शुरु गरेको खरिदार पदको नयाँ भर्ना प्रक्रियाको दोस्रो चरणको लिखित परीक्षा स्थगित गरिएसँगै ६ सय ३९ परीक्षार्थीमा अन्योल छाएको छ। आर्थिक वर्ष २०७६(७७ को तालिकाअनुसार गत असोजमा प्रकाशित खरिदार पदको विज्ञापनअनुसार आगामी वैशाखमा गर्ने भनिएको लिखित परीक्षाको तालिका रद्ध गरिएको हो।

त्यस्तै स्वास्थ्य सेवाअन्तर्गत नवौं तहका लागि २० जनाको अन्तर्वार्ता रोकिएको आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताउनुभयो। प्रवक्ता सुवेदीले अहिले आयोग दैनिक प्रशासन सञ्चालनमा सीमित भएको जानकारी दिँदै नयाँ भर्ना र बढुवाका लागि सबै प्रक्रिया ठप्प भएको बताउनुभयो। झद्म हेर्दा यसबाट निजामती क्षेत्र मात्र प्रभावित भएको जस्तो देखिए पनि यसबाट सबै क्षेत्र प्रभावित हुने पक्का छ।

विज्ञापन प्रकाशित, लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षा, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, अन्तर्वार्ता, सिफारिस, बढुवा प्रक्रिया, आयोगको परामर्श, विज्ञ छनोटजस्ता सबै प्रक्रिया पदाधिकारीबिना अघि बढाउन मिल्दैन। पदाधिकारीको अभावमा परीक्षाको प्रश्नपत्रको तयारीका लागि विज्ञको छनोट रोकिएको छ। नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्