काठमाडौं, १५ चैत्र । होलीको अवसरमा अवाञ्छित गतिविधि बढ्नसक्ने, लापरवाहीपूर्वक सवारी सञ्चालन हुनसक्ने र भिडभाड हुनसक्ने सम्भावित जोखिमलाई मध्यनगर गरी काठमाडौँ उपत्यकामा प्रहरीले कडा सुरक्षा अपनाएको छ ।
ठाउँठाउँमा प्रहरी परिचालन गरेरर ट्राफिक जाँचलाई तीव्रता दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । “आजको दिन बिहानैदेखि साँझसम्मै सवारी जाँचका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ, यातायातमा कुनै लापरवाही हुने वित्तिकै कारवाही हुन्छ”, भट्टराईले भने, “सामान्य लापरवाही गरेकालाई दिनभर सवारी होल्डमा राख्छौँ, कानून उल्लङ्घन गरेकालाई कारवाही गरिरहेका छौँ ।”
महाशाखाको ट्राफिक परिचालन कक्षबाट अपरान्ह १ः०० बजेसम्मको विवरण अनुसार ३१२ दुई पाङ्ग्रे र १७ चारपाङग्रे सवारी साधनलाई सडकमै होल्ड गरेर राखिएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने कूल १५२ सवारीका चालकलाई कारवाही गरिएको छ ।
मुख्यगरी मापसे गरेर सवारी चलाउने, कागजात नबोकी, सवारी चलाउने, दुर्घटना गराउनेसक्ने गरी सवारी चलाएका युवा, होलीको बहानामा लापरवाही गर्ने जस्ता सवारीसाधन कारवाहीमा परेका छन् । महाशाखाका प्रमुख भट्टराईका अनुसार आज उपत्यकाका ७६ ठाउँमा ९०० ट्राफिक प्रहरी परिचालन गरी सवारी जाँच भइरहेको छ । रासस