काठमाडौं, १५ चैत्र । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो लागेको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै तीन दिनदेखि नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको जानकारी दिए । उनका अनुसार मौसम सफा हुन डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था छैन् ।
विभागकै मौसमविद् मञ्जु बासीले डढेलोका कारण वायुमण्डलमा असर परेको र बाक्लो तुवाँलो लागेको बताए । “वायुमण्डल स्थिर छ, हावा तलमाथि भएको छैन त्यसैले उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकेको छ । बेगले हावा चलेको भए तुवाँलो छरिन्थ्यो र विस्तारै आकाश खुल्ने थियो । त्यो देखिदैन मङ्गलबारदेखि काठमाडौँको आकाश खुल्ने अनुमान गरिएको छ”, उनले भने ।
अहिले काठमाडौँ उपत्यका पूरै तुवाँलोले ढाकेको र भिजिबिलिटी कम रहेको उनले जानकारी दिए । प्रदेश नं २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा वायु प्रदूषण देखिएको छ । काठमाडौँ उपत्यका जस्तै अन्य उपत्यकामा पनि बढी असर रहेको मौसमविद् बासीको भनाइ छ । सोमबार साँझदेखि पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भएकाले मङ्गलबारसम्म उक्त वायु काठमाडौँ प्रवेश गरेसँगै मौसममा केही सुधार आउने बताइएको छ ।
पश्चिमी वायुको प्रभावले वर्षाको पनि सम्भावना रहेकाले तुवाँलो हट्ने मौसमविद् बासीले बताए । उनले तत्कालै ठूलो वर्षा र हावा हुरी चल्ने मौसमी प्रणाली नरहेकाले मौसम पूर्णरुपमा सुधार हुन अझै केही समय लाग्ने जानकारी दिए । रासस