काठमाडौं, चैत १६ । राष्ट्रिय गौरवको सुनकोशी –मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूपसँग ठेक्का सम्झौता भएको छ । अघिल्लो हप्ता आयोजना र चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूपबीच ठेक्का सम्झौता भएको हो ।
सरकारले गत फागुनको अन्तिम साता उक्त आयोजनाको सुरुङ निर्माणका लागि चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूपलाई छनोट गरेको थियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर सरकारले कम्पनीसँग ठेक्का सम्झौता गरेको हो । आयोजनाका तर्फबाट निर्देशक सुशील आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
ठेक्का सम्झौता भए पनि सुरुङ निर्माणको कार्य भने १ वर्षपछि मात्र हुने देखिएको छ । आयोजनाको सुरुङ पनि भेरी–बबईमै जस्तै अमेरिकी प्रविधिको टनेल बोरिङ मेशिन (टीबीएम) मार्फत नै खनिनेछ । तर, उक्त मेशिन भने अझै तयार भएको छैन । त्यो मेशिन अमेरिकामा बनाएर नेपाल ल्याउँदासम्म १ वर्षभन्दा बढी समय लाग्नेछ । त्यसैले सुरुङ निर्माण शुरू हुन १ वर्ष लाग्ने सिँचाइ विभागका प्रवक्ता कृष्णप्रसाद नेपालले बताए ।
अब ठेकदार कम्पनीले टीबीएम मेशिनको डिजाइन बनाएर सिँचाइ विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ । त्यसका लागि लगभग ६ महीना समय लाग्नेछ । विभागबाट स्वीकृति पाएपछि कम्पनीले उक्त मेशिन बनाउनुपर्ने हुन्छ, जुन अमेरिकामा निर्माण गरिनेछ ।
त्यो मेशिन बन्न पनि ३र४ महीना समय लाग्नेछ । मेशिन नेपालसम्म ढुवानी गर्न थप ३र४ महीनासम्म लाग्ने अनुमान गरिएको छ । त्यसैले १ वर्षपछि मात्र सुरुङ निर्माणको काम हुने विभागका प्रवक्ता नेपालको भनाइ छ । मेशिन बनाउनेदेखि ढुवानी गर्नसम्म १ अर्ब रुपैयाँ खर्च हुने बताइएको छ ।आर्थिक अभियान दैनिकबाट