Logo

रसुवागढी सुक्खाबन्दरगाहः तीन महिना देखि रोकियो निर्माण



रसुवा, चैत १६। रसुवागढी नाकामा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माणको काम तीन महिनादेखि रोकिएको छ कोभिड–१९ विरुद्ध खोप लगाउन गएका कामदार नफर्केकाले काम सुचारु हुन नसकेको हो ।

खोप लगाउन गएका कर्मचारी तीन महिनादेखि नफर्केपछि काम सुचारु हुन नसकेको बनदरगाहका इन्जिनियर शोभाकान्त राउतले जानकारी दिए । उनका अनुसार अहिलेसम्म बन्दरगाह निर्माणको १३ प्रतिशत काम सम्पन्न भएको छ ।

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा टिमुरेमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहले नेपाल–चीनबीचको व्यापारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । भौतिक संरचनाको अभावमा सञ्चालन हुँदै आएको व्यापारलाई सहज बनाउनका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोगमा बन्दरगाह निर्माण गरिदिन लागेको हो ।

बन्दरगाहको लागि १२ करोड ४० लाख चिनियाँ युआन अनुमान गरिएको छ । सीमा नाकाबाट करिब साढे दुई किलोमिटरको दूरीमा पर्ने बन्दरगाह करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ । बन्दरगाहमा तीन सय ५० वटा ठूला ट्रक तथा साना गाडी अट्ने पार्किङस्थल निर्माण हुनेछ ।

छिमेकी चीनले प्राथमिकतामा राखेको केरुङनजिकै निर्माण हुन लागेको सुक्खा बन्दरगाहको जग्गा अधिग्रहणको तथा मुआब्जाका काम भएपछि बन्दरगाह निर्माणको काम थालनी भएको हो । बन्दरगाह निर्माणका लागि त्यहाँ चार वर्षअघि नै जग्गा अधिग्रहण सुरु भएको थियो ।

चीनले सन् २०१४ मा बन्दरगाह बनाउन प्ररम्भिक सहमति जनाएको भए पनि विनाशकारी भूकम्पलगत्तै सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनले केरुङको विकासलाई बढी प्राथमिकता दिँदै आएको छ । संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट पाँच र सर्वसाधारणको तीन हेक्टर जग्गा अधिग्रहण भएको थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्