Logo

घर नजिकै स्वास्थ्य सेवा



जाजरकोट, १६ चैत्र । एक वर्षअघि छेडागाड नगरपालिका–७ का रामबहादुर कामीको हात जङ्गलमा घाँस काट्दै गर्दा लडेर भाँच्चियो । उनी करिब छ महिनाभन्दा बढी हिँड्न नसक्ने अवस्थामा पुगे ।

उनले छोरा र श्रीमतीको सहारामा शौचालय जानेदेखि व्यक्तिगत सरसफाइको काम गरे । उनले अर्थावस्था कमजोर र नजिकै स्वास्थ्य संस्था नभएका कारण उपचार गर्न नगई घरमै थलिएको बताए । नेपालगञ्ज, सुर्खेत र जाजरकोट सदरमुकाम जान मात्र हजारौँ रकम खर्च गर्नुपर्छ । आफूसँग गाडी भाडासम्म जुटाउने अवस्था नभएका कारण घाइते शरीर छ महिनासम्म घरमै थलिएर बसेको उनले व्यथा सुनाए । घरकै स्थानीय जातको जडीबुटीको सहारामा उपचार गरी अहिले भित्र, बाहिर आफैँ हिँडनसक्ने भएको उहाँले राससलाई बताए ।

“वर्ष दिनअघि लडेर घाइते भए । अहिले म नजिकै अस्पताल निर्माण भएपछि विस्तार त्यहाँ गएर औषधि ल्याएर खाने गरेको छु” उनले भने, “छेडागाड नगरपालिकाले तन्नेरी चिकित्सक ल्याई अस्पतालको सेवा सञ्चालनमा ल्याएको छ, अहिले त्यही गएर निःशुल्क जाँच, उपचार गरिरहेको छु । कहिलेकाहीँ घर पुग्न टाढा भएकाले त्यहाँका कार्यालय सहयोगीलाइ घर पु¥याइदेऊ भन्छु, मोटरसाइकलमा राखेर घरसम्म पु¥याइदिन्छन् ।” कामीजस्तै दूरदराजमा अर्थावस्था कमजोर भएर अस्पतालको मुख देख्न नपाएका बिरामी अहिले थलहमा रहेको अस्पतालमा आएर निःशुल्क उपचार गर्न पाउँदा खुशी भएको बताउँदै आएका छन् । सरकारले प्रत्येक पालिकामा १५ शय्याको अस्पताल बनाउने योजनाअनुसार छेडागाडमा अस्पताल बनाएको हो ।

अस्पताल बनाएसँगै यहाँका सर्वसाधारण घर नजिकै उपचार पाउँदा निकै खुशी छन् । दैनिक ६० भन्दा बढी बिरामी उपचारका लागि आउने नगरप्रमुख लालबहादुर महताराले जानकारी दिए । उनले भने, “अस्पतालमा नसोचेकै सङ्ख्यामा बिरामी आउँछन्, नगरपालिकाले औषधिका लागि छुट्याएको बजेट नपुगेर व्यवस्थापनमा हामीलाई हैरानी भएको छ ।” अस्पताल स्थापना भएसँगै अहिलेसम्म करिब ७०० भन्दा बढीले उपचार सेवा लिइसकेको बताएको छ । प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थामा उपचार सम्भव नभएका बिरामीलाई अस्पतालमा सिफारिस गरिँदै आएको छ ।

यसैबीच उनीउपचार सम्भव नभएका पाँच गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पतालमा लगेर ज्यान जोगाएको स्वास्थ्यकर्मी रामबहादुर थापाले जानकारी दिए । उनका अनुसार दुर्गम भएकाले उपचार गर्दागर्दै केही नयाँ जानकारी लिन खोज्दा कहिलेकाहीँ समस्य हुने गरेको छ । त्यस्तै नगरपालिकाले जटिल खालका बिरामी आफ्नै एम्बुलेन्समार्फत सेवा दिएर सुविधा सम्पन्न ठाउँमा पु¥याई सेवा दिने गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्