काठमाडौं, १६ चैत्र । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध परेको रिटमा अहिले केही बेरमा निर्णय सुनाउने मिति तोकिने सम्भावना छ । बालुवाटारको ललिता निवास प्रकरणमा नेपाल र भट्टराईविरुद्ध परेको रिटमा आज सुनुवाई भई मिति तोकिने सम्भावना रहेको बुझिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासमा मुद्दाको भइरहेको छ । । यसबारे सबैको चासो छ ।
ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यतिबेला प्रधानमन्त्री रहेका माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि मुद्दा नचलाई घटनासँग सम्बन्धित अन्य व्यक्तिहरुलाई मात्र मुद्दा दायर गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो । २०७६ माघ २८ गते उनीहरुमाथि मुद्दा चलाउन माग गर्दै रिट निवेदन दर्ता भएपनि सुनुवाई स्थगित हुँदै आएको थियो ।
पछिल्लो समय राजनीतिक सत्तासंघर्ष चर्किइरहँदा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथिको मुद्दाको सुनुवाई अगाडि बढ्नुलाई अर्थपूर्ण मानिएको छ । नेपाल र भट्टराई दुवै वर्तमान सत्ताको प्रखर विरोधी मानिन्छन् । उनीहरुले आफूहरुमाथि षड्यन्त्र भइरहेको बताउँदै आएका थिए ।
सर्वोच्च अदालतले नेपाल र भट्टराईविरुद्धमा फैसला गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैमाथि मुद्दा चलाउने अवस्था आउन सक्छ । यसलाई उनीहरुको टाउकोमा तरबार झुण्ड्याइएको विश्लेषण नभएको होइन । नेपालले हालैमात्र आफू जुनसुकै चुनौतीको सामना गर्न तयार रहेको बताएका थिए ।