Logo

दोस्रो लहरसँगै नेपाली श्रमिकको चिन्ता



काठमाडौं, चैत १७ । कोरोना सङ्क्रमणको दोस्रो लहर बढ्न थालेपछि विश्वका विभिन्न देशमा रहेका नेपाली श्रमिकको बारेमा पुनः चिन्ता बढेको छ । नेपाली श्रमिकको मुख्य गन्तव्य मुलुक मानिएका मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमन, बहराइन र दक्षिण कोरियाजस्ता देशमा दोस्रो लहर फैलिन थालेपछि त्रास पनि बढ्न थालेको छ ।

कोरोना सङ्क्रमणकै कारण गत वर्ष आठ÷नौ महिनासम्म पूरै प्रभावित भएको वैदेशिक श्रम बजार हालै मात्र खुलेर गति लिन नपाउँदै पुनः कोरोनाको सङ्क्रमणले वैदेशिक रोजगारीमा गएका परिवारमा समेत त्रास बढेको हो । कोरोना प्रभावित देशमा रहेका नेपाली दूतावासले सार्वजनिक सूचना निकालेर सर्तक र सुरक्षित रहन नेपालीलाई आग्रह गरिसकेका छन् ।

गन्तव्य मुलुकले कोरोनाविरुद्धको खोप कार्यक्रम चलाइरहेको भए पनि नयाँ सङ्क्रमण पुनः बढ्न थालेको छ । सन् २०२० मा कोरोनाबाट आक्रान्त भएका ती मुलुकमा सङ्क्रमण हुँदै गएसँगै श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या क्रमशः बढ्न थालेको थियो ।

हाल दक्षिण कोरिया, मलेसिया, साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका नेपाली दूतवासले ती देशमा कोरोना भाइरसका कारण सार्वजनिक स्थल, सार्वजनिक यातायात, सपिङ मलजस्ता मानिसको बढी भीडभाड लाग्ने ठाउँमा जाँदा विशेष सतर्क तोकेका स्वास्थ्य मापदण्ड अपनाएर मात्रै जान आग्रह गरेका छन् । यस्तै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र स्वास्थ्यकर्मीको निर्देशन पालना गर्नसमेत विदेशस्थित राजदूतावासहरूले अनुरोध गरेका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्