चन्द्रकिशोर: देशको राजनीतिक संकटको कारणहरूमा धेरै पत्रपत्र जेलिएका छन् । भूकम्प त संविधान निर्माणको बेलामा नै गएको थियो । मसल बलहरूमा विधिहरूलाई मिच्ने काम भयो । त्यही बेलामा राजनीतिक महत्वकांक्षा अगाडि आयो । संविधान निर्माणका प्रक्रिया त्यसका पद्धति, प्रारूपमा जुन तिथि बसाउनुपर्ने थियो त्यसले मुलुकको वर्तमान र भविष्यको मार्गचित्र कोर्ने थियो । तर, त्यसमाथि बल मिच्याइँ भयो । त्यो बलमिच्याईँले र त्यसको मन्थनबाट एउटा अधिनायकवादीको जन्म लियो । त्यो खड्गप्रसाद शर्मा ओलीको रूपमा हाम्रो सामू छन् । उनी दलभित्र अधिनायक बने, संसद्भित्र अधिनायक बने अनि समग्र मुलुकमा अधिनायक बन्दै गइराखेका छन् । उनको प्रार्दुभाव नै बलमिच्यार्इंको सोचबाट भएको थियो । ओलीलाई यहाँ पु¥याउन माओवादी र एमाले दोषी छन् । सबै नेताहरू दोषी छन् जो अहिले ओली अधिनायकवादी भयो भनेर कराउँदैछन् ।
अहिलेको परिस्थिति आउनुको मुहानतिर फर्केर हेर्नुपर्छ । जसरी संविधान निर्माण हुनेबित्तिकै रगतले लतपतियो मधेस । त्यसको बाबजुद पनि संविधानको निर्माण भयो । त्यसपछि नक्कली राष्ट्रवादको सुरुआत भयो । जब बहुमतको आधारमा बलमिच्याईँ गर्ने, विधि र प्रक्रियाहरूलाई नमान्ने जसरी द्रुतगतिमा यो संविधान निर्माणको काम भयो । त्यहीं बेलाको सुरुआत हो । त्यसैले मुहान प्रदूषित भएपछि त्यसबाट निस्किएका नदीहरू प्रदूषित हुने नै भए नि । पहिलेका राजा, महाराजाहरू यज्ञ गर्दथे । त्यसबाट समाधान निस्किन्थ्यो । जसरी संविधान निर्माणबाट बलमिच्याईंको यज्ञ भयो । त्यस यज्ञबाट प्रकट भए हाम्रा खड्गप्रसाद ओली । उनको उदय भएको कालदेखि लोकतन्त्रमाथि घन प्रहार गरिरहेका छन् ।
हाम्रो देशमा जसले संविधान ल्याए उनीहरू सत्ताको भागबन्डातिर लागे । जो सत्ताको हस्तान्तरणका लागि आएका थिए । कांग्रेसलाई लागेको थियो म त यो संविधानको निर्माता भएँ । त्यसमा संविधानको पिता भएँ भनेर सुशील कोइराला लागे । खड्गप्रसाद ओली चाहिँ प्रधानमन्त्री बन्नतिर लागे । प्रचण्डलाई के लाग्यो भने मेरो सबै अपराधहरू चाहिँ अब नामेट हुने भयो र अब सत्ताको भागबन्डा भयो । कालान्तरमा ठूलो कम्युनिस्ट पार्टीको नेता बन्छु भन्ने लाग्यो । यसरी भागबन्डाको राजनीतिको सुरुआत भयो । तर, त्यो संविधानमा मधेसको रगत लतपतिएको थियो । जसको रगत बगेको हुन्छ उसको लागि जन्मेको सन्तानको बढी माया हुन्छ । त्यसैले मधेसवादी बचाउनको लागि अहिले आएका छन् । यो बडा विरोधाभाषपूर्ण अवस्था हो । जब राष्ट्रको लागि संविधान लागू गरियो त्यतिखेर मधेसवादीहरूले गोली खाए । अहिले त्यही संविधान बचाउनको लागि मधेस अगाडि आएको छ । अहिले यो संविधान बचाउनुपर्छ भनेर सबैभन्दा बढी रोदन र क्रन्दन मधेसले गरिरहेको छ । नेपाली राजनीतिमा जहिले पनि लोकतन्त्रका लागि मधेसी अगाडि आएको छ । २००७ साल, २०३६ साल र २०४६ साललाई हेर्ने हो भने मधेस नै अगाडि आएको देखिन्छ ।
नेपालमा राजनीतिक सिद्धान्तहरू दक्षिणको ढोकाबाट छिरेको विषयबारे ध्यान दिन जरुरी छ । माओवाद पनि पश्चिम भएरै दक्षिण हुँदै नेपाल प्रवेश गरे । माक्र्सवाद पनि हिन्दीमा अनुवाद गरेका किताबद्वारा नेपाल प्रवेश गरे । सोभियत रूसका मान्छेहरू पनि दक्षिण ढोकाबाटै छिरे । भारतीय स्वतन्त्रताको आन्दोलन पनि नेपालमा दक्षिण एसियाकै स्वतन्त्रताको आन्दोलन थियो । त्यसको प्रभावले गर्दा नेपालको दक्षिणी क्षेत्र जुन मधेसी भेग परिवर्तनको निम्ति अगाडि आयो । जब नेपालको राजनीतिमा डिस्कोर्सको रूपमा आयो राष्ट्रियता भन्ने विषय । त्यो राष्ट्रियतालाई फरक व्याख्या लिने काम मात्रै मधेसले ग¥यो । यो राष्ट्रियता भनेको नेपालका खास, समूह, भाषा र धर्मका मान्छेहरू हुन् । त्यो भनेको विविधता हो । त्यहाँको माटो, जनतालगायत सगोलको सामाथ्र्य हो भनेर मधेसले परिवर्तन गर्ने काम गरेको हो ।
एक प्रकारका मान्छेको बुझाइ के थियो भने चुरेभन्दा माथि बसोबास गर्नेहरू मात्रै यो मुलुकका मान्छे हुन् । यो मुलुकको सीमाभित्र पुस्तौ बसिसके पनि नेपाली भएनन् । तर, मेघालयमा बसोबास गर्ने नेपाली भाषीलाई नेपाली भनिन्छ । तर मधेसमा बसोबास गरेका नेपालीहरू जो मैथिली, भोजपुरी, अवधी, हिन्दी, उर्दू बोलिराखेका हुन्छन्, उनीहरूलाई हामीले नेपाली मानेनौं । यस्तो खालको जुन सोचको प्रारूप थियो यसलाई भत्काउने काम मधेसले ग¥यो । यसले राष्ट्रियतालाई अगाडि ल्याउने काम ग¥यो । जो साँधमा बसेर पनि केन्द्रजत्तिकै भावनात्मक हुन्छ, केन्द्रजस्तै समर्पित हुन्छ र प्रतिबद्ध हुन्छ राज्यका आधारहरू निर्माण गर्नमा लागेको हुन्छ । यी केन्द्रजत्तिकै हुन् किनभने अवधीका जनश्रुति मानसमा तुलसी दासले के भनेका छन् भने ‘जहाँ राम त्यहाँ अवधेश, जहाँ राम हो त्यही अयोध्या हो ।’ त्यो भनेको जहाँ जनता हुन्छन् त्यही सार्वभौम सत्ता हो, त्यही केन्द्र हो । आज सीमाका छेउछाउ बस्नेहरू पनि केन्द्रजत्तिकै आधार भएको त्यत्तिकै सरोकार राखेको स्टेक होल्डरहरूले राज्य निर्माणमा लागि परेको देखिन्छ ।
मधेस राजनीति, मधेसी जनता जसलाई मधेसी दल भनिने गरिन्छ ती फरक कुराहरू हुन् । अहिले मधेसी दल भन्ने छैन । नाम त जसपा छ । जनता समाजवादी पार्टी भनिएको छ, त्यसमा मधेसी पार्टी भनेर कहाँ जनाइएको छ ? नेपालमा कुनै पनि राजनीति दलहरू सत्ता आरोहणका लागि नै राजनीति गर्ने रहेछन् । र, नेपालको विसंगत पक्ष पनि के भयो भने अधिकारका लागि, न्यायका लागि लोकतन्त्र र स्वतन्त्रताका लागि लडिरहेका दलहरू पनि सत्ताको नजिक पुग्नेबित्तिकै र सत्ताबाट गुज्रिनेबित्तिकै मैनबत्ती जस्तो पग्लिन थाल्दछन् । चाहे ती २००७ सालको परिवर्तन पछि प्रजापरिषद् थिए, नेपाली कांग्रेस थिए, उनीहरूको पनि आन्तरिक टुटफुट, विघटनका कारण सत्तासँगको दूरीको सम्बन्ध देखिन्छ । २०४६ सालपछिको अवस्थालाई हेर्दा कम्युनिस्ट पार्टीको पनि टुटफुट र विघटनको कारणहरू भने सत्तासँग नजिकिएका सम्बन्धहरू छन् । अहिले पनि कम्युनिस्टहरूको घमासान झगडा छ । त्यो अरू केही होइन । सत्तामा को जाने हुन् । त्यहाँ माधव, झलनाथ, प्रचण्ड अथवा केपी ओलीको कब्जा हुने हो । त्यसका बारेमा यसबीच दन्तबजान भइराखेको छ र एकले अर्कालाई समाप्त पार्ने खेलहरू भइराखेका छन् । कम्युनिस्टहरूको टुटफुटको मुख्य कारण त्यही हो ।
नेपालमा भएका पुराना दलहरू भनिएका प्रजातान्त्रिक स्कुलिङबाट आएका वा वामपन्थी स्कुलिङबाट आएका दलहरूको जुन हविगत र नियति हो जसमा उनीहरूले कैयौं दशक बिताइसकेका छन् । उनीहरू अहिले पनि दलमा सिद्धान्तलाई नमान्ने, दलमा सामूहिक नेतृत्वलाई नमान्ने, सहकार्यलाई नमान्ने सत्तालाई भ¥याङको रूपमा मान्ने कुराको बढी आधार बनाउँछन् ।
जसलाई मधेसी दलहरू भनिएको छ उनीहरू छोटो अवधिमा आएका छन् । त्यसकारण उनीहरूमा सत्ताका लागि टुट्ने फुट्ने र यताउता समीकरणमा जाने प्रवृत्ति पाउनुलाई किन आश्चर्य मान्नु ? महाभारत यक्षले युधिष्ठिरलाईलाई सोधेका थिए, ‘आश्चर्य के हो ? मान्छेहरू सधैं मर्छन् । तर, जो बाँचेका छन् उनीहरूलाई के लाग्छ भने म सधैँ बाँच्छु र ‘बाँच्नु नै मेरो अमरता हो ।’ सत्ताको नजिक गएर पग्लिनु कुन आश्चर्य हो ।
अहिले कतिपयले यो व्यवस्था नै खतरामा छ भनेर हल्ला गरिरहेका छन् । तर, अहिले नै त्यो अवस्था आइसकेको छैन । किनभने नेपाली जनता अत्यन्तै जागरुक छन् । संसद् बाहिर पनि अर्को संसद् छ । जब सडक जागरुक रहन्छन् उसले सरकार र संगठनलाई नियन्त्रण गर्न पर्याप्त हुन्छ । नेपालका जनता संघर्ष गरेर त्यसलाई जोगाउँछन् । हामीले देखेका छौं, ‘पछिल्ला वर्षहरूमा सैनिक ‘कू’ गरेर ज्ञानेन्द्रले सत्ता कब्जा गर्न खोजे सकेनन् । माओवादीले अर्को कोणबाट सत्ता कब्जा गर्न खोजे सकेनन् । नेपाली जनताहरू धेरै जागरुक छन् । अँध्यारो कोठाबाट गर्न खोजिएको दुष्प्रयासले थेग्न सक्दैनन् । लोकतन्त्रको बाटो नदीजस्तै बाङ्गोटिङ्गो हुन सक्छ । जाने भनेको अगाडि नै हो । जनता अझ बढी प्रगतिशील, अझ बढी सुरक्षित र सार्वभौम दिशामा हामी अगाडि बढ्छौ भन्ने लाग्छ । पछिल्लो समय जनमत संग्रहका कुरा पनि आएका छन् । राजनीतिमा ती तपसिलका कुराहरू हुन् । राजनीतिक दलहरूसँग प्रकारन्तरमा विभिन्न मोलमोलाइ भइराखेका हुन्छन् । यहाँ आदर्शका भन्दा पनि तत्कालिक लाभ र हानिका कुराहरू भइराखेका छन् । राजनीतिमा कस्ता नाराहरू अगाडि आउँछन् ? कस्ता नाराहरू हराएर जान्छन् । त्यो राजनीति विषयमा भयो । समग्रमा नेपालमा लोकतन्त्र, गणतन्त्र, समावेशी सोचको कार्यदिशा अगाडि बढ्छ ।-रिपोर्टर्स क्लब नेपालको स्मारिकामा प्रकाशित वरिष्ठ पत्रकार चन्द्रकिशोरको विचार