दीपेश केसी: पशुपतिनाथलाई राजनीतिको रंगमञ्चमा जबर्जस्ती ल्याइयो । पवित्र बागमती नदीकिनारमा अवस्थित पशुपतिनाथ हिन्दू धर्मालम्बीहरूको तीर्थस्थल मात्र होइन अधिकांश नेपालीहरूको आस्थाको धरोहर पनि हो । यसलाई राजनीतिमा फेरि तान्नुभित्र राजनीतिक स्वार्थ नै देखिन्छ । रोचक पक्ष यो छ कि कम्युनिस्ट पार्टीका नेताहरूबीचको सत्तासंघर्षमा पशुपतिनाथलाई फेरि एकपटक तानेर ल्याइएको छ । यसका उद्देश्य, कारण र भविष्यमा पार्ने प्रभाव उत्तिकै महत्वपूर्ण हुन सक्छ ।
‘धर्मलाई अफिम’ भनेका कार्ल माक्र्सका अनुयायीहरूबाट पशुपतिनाथको लगातार प्रसंग उठेको छ । जसमध्ये प्रधानमन्त्री केपी शर्मा ओली पनि हुन् । उनले सपरिवार पशुपतिनाथको विशेष पूजा मात्र गरेनन् सुनको जलहरी चढाउन बजेट नै विनियोजन गर्न लगाए । पशुपतिनाथको दर्शन गरेर ढोकाबाहिर मुसुक्क हाँस्दै ओलीले तस्बिर खिचाए । उक्त तस्बिर सार्वजनिकसमेत गरे । उनको यो कदममा पनि राजनीतिक उद्देश्य निहित थियो भन्दा अत्युक्ति नहोला । प्रतिनिधिसभाको विघटनको कदम चालेर अलोकप्रिय भइरहेको बखत ओलीले पशुपतिनाथको दर्शन गरेर ठूलो संख्याका हिन्दूहरूप्रति सहानुभूति पाउन सफल भए । ओलीले सनातन धर्म संस्कृतिको संरक्षण र संवद्र्धनमा गम्भीरता देखाएको विश्वासहरू गरे । अर्कोतर्फ, पार्टीभित्रका आफ्ना विरोधीको मुखबाट धर्मविरोधी अभिव्यक्ति निकाल्न सफल भए । जुन उनीहरूकै लागि प्रत्युत्पादक बन्यो ।
ओलीको पशुपतिनाथ यात्रा र जलहरी चढाउन गरिएको बजेट विनियोजन चासोमा परिरहँदा त्यसविरुद्ध बोल्नेहरू विवादमा परे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखि एमाले नेता रघुजी पन्तले यसविरुद्ध दिएको अभिव्यक्तिप्रति अधिकांश जनतामा नकारात्मक धारणा विकास भयो । पशुपतिनाथप्रति जनआस्था बुझेका माधवकुमार नेपालले यही बुझेर भाषणकै बेलामा नरम तरिकाले प्रस्तुत भए । पशुपतिनाथले खराब मान्छेलाई माया नगर्ने अभिव्यक्ति दिए । उनै माधव नेपाल पत्नीसहित चैत्र महिनाको एउटा बिहान पशुपतिनाथको क्षमा पूजा गर्न पुगे । उनले पशुपतिनाथको दर्शनपछि कैद गरेको तस्बिरले ठूलो अर्थ बोक्यो ।
केपी शर्मा ओली र माधवकुमार नेपालको पशुपतिनाथको आलोपालो यात्रा नेपाली राजनीतिक रंगमञ्चको रोचक घटना हो । ‘धर्मलाई अफिम’ भन्ने माक्र्सका अनुयायीहरू हिन्दू धर्मको पवित्र तीर्थस्थलमा पाइला सारेनन् मात्र त्यसबाट हिन्दू धर्मप्रति आस्थावान् बनेको सन्देशसमेत दिन पुगे । ओलीले त यसअघि नै ठोरीमा राम मन्दिर निर्माणको घोषणा गरिसकेका छन् । त्यो पनि चितवनस्थित प्रचण्डको निर्वाचन क्षेत्र पुगे । राजनीतिमा धर्मको मुद्दा जोडतोडले उठिरहँदा ओलीले यसैलाई अस्त्र बनाइरहे । ओलीको धर्मास्त्र नै प्रचण्ड र माधव नेपालका लागि चुनौतीपूर्ण अस्त्र बनेको छ । माधव नेपालले त पशुपतिनाथको दर्शन गरेर चतुर्याई देखाए । तर, प्रचण्डले भने धर्मास्त्रविरुद्ध धर्म निरपेक्षताको पुरानै अस्त्रलाई प्रस्तुत गरे ।
अर्को रोचक प्रसंग, ओलीले माक्र्सवाद र समाजवादी सिद्धान्तको व्याख्या गर्न छाडेका छन् । उनी पूर्वीय दर्शन र आध्यात्मिक विषयलाई धर्मगुरुले जसरी प्रवचन दिन थालेका छन् । संसारको अर्को कुना ज्ञानविहीन भई अँध्यारोमा रहँदा यस भूमिमा ऋषिमुनिहरूले ज्ञानको प्रकाश छरेको व्याख्या गर्छन् । धेरै वर्ष भयो ओलीले साम्यवादबारे बोल्न छाडेका छन् । कार्ल माक्र्स, लेनिन, स्टालिन र माओत्सेतुङबारे बोल्न छाडेका छन् । नेकपा फुटेपछि उनले मनमोहन अधिकारी र मदन भण्डारीको मात्र तस्बिर राखेर ब्यानर अगाडि उभिएको दृश्य अर्को रोचक घटना हो । यसकारण पनि ओलीले कम्युनिस्ट सिद्धान्तभन्दा विपरीतका व्यवहार र कदम चाल्दै बढेको आरोप लागिरह्यो । यो आरोप स्वयं ओलीका लागि लाभदायक बन्दै गयो ।
नेपालमा यी घटनाहरू विकास भइरहँदा छिमेकका शासनमा रहेकाहरूको कदमबारे पनि मध्यनजर राख्नुपर्ने हुन्छ । नेपालको राजनीतिमा निकै चासो राख्ने भारतमा हिन्दूवादी भनिने भारतीय जनता पार्टीको शासन छ । नरेन्द्र मोदीले त वर्षौं देखि थाती रहेको अयोध्याको राम मन्दिरको उद्देश्यलाई साकार पार्न सुरुआत गरिसकेका छन् । भारतभित्र हिन्दुत्वको प्रभाव झन् बढ्दो छ । नेपालमा पनि धर्मको विषयमा निकै चासो राख्नेहरू भारतको सत्तामा शक्तिशाली छन् । रक्षामन्त्री राजनाथ सिंहले भाजपा अध्यक्ष हुँदा नेपालमा धर्मनिरपेक्षता संविधानमा राखिएकोमा अनौपचारिक भेटहरूमा असन्तुष्टि जनाएकै थिए । योगी आदित्यनाथले उत्तर प्रदेशको मुख्यमन्त्री हुनुअघि नेपालमै आएर ‘हिन्दू राष्ट्र’ स्थापनामा जोड दिएका थिए । अर्कोतर्फ, उत्तरी छिमेकी चीनमा इसाई र इस्लाम धर्मप्रति सी जिनपिङ नेतृत्वको कम्युनिस्ट सरकारले कठोर नीति अवलम्बन गरेको विषय बेलाबेलामा आइरहने गरेको छ ।
छिमेकमा विकास भएको घटनाक्रमबाट समेत ओलीका कदमहरू प्रभावित भएका छन् । भारत र चीनभित्र आफ्नो संस्कृतिको रक्षाका सवालहरूलाई सत्तारूढहरूले निकै प्राथमिकतामा राखेका छन् । यसलाई उदारवादी भन्नेहरूले अतिवादी कार्यशैलीको आरोप लगाउने गरेका छन् । तर, छिमेकमा बहेको हावालाई बुझेर ओलीले माक्र्सको पुँजी पुस्तकलाई पन्छाएर वेद पल्टाउन थालेको बुझ्न कठिन छैन । उनले पल्टाएको वेद, गीता र आध्यात्मिक पुस्तकहरूले कहाँसम्मको कदम चाल्ने अवस्थासम्म पु¥याउने हो ? राजनीतिक रंगमञ्चका रोचक घटनाहरूमा सजिलै अनुमान लगाउन कठिन छ ।
ओलीको राजनीतिक पृष्ठभूमि केलाउँदा २०५५ सालमा महाकाली सन्धि गराउन विशेष भूमिका निभाएका थिए । सन्धि गर्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा थिए । त्यसलाई संसद्को दुवै सदनबाट पारित गराउन ओलीले पनि भूमिका खेलेका थिए । तत्कालीन नेकपा एमाले फुट्ने अवस्थाबीच पनि ओली अगाडि बढेका थिए ।
भारतसँगको महाकाली सन्धिपछि ओलीले सार्वजनिक रूपमै देशले काँचुली फेर्ने ठोकुवा गरेका थिए । तर, सन्धि कार्यान्वयन आजपर्यन्त हुन सकेको छैन । २२ वसन्त बित्यो, महाकालीमा पानी बगिरह्यो तर डीपीआरसम्म तयार भएन । तिनै ओलीले भारतले लिम्पियाधुरामा रणनीतिक मार्ग बनाउँदा डटेर बोले । लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा जारी गर्न अघि सरे । यसमा राष्ट्रिय सहमति निर्माण गराए । ओलीको यो साहस नेपाली राजनीतिको रोचक घटना हो । यद्यपि, उनले नक्सा फिर्ता गराउनेतर्फ ठोस कूटनीतिक कदम चालेकोमा आशंकाहरू छन् । भारतले सीमा समस्याबारे कुरा गर्ने खासै चासो देखाएको छैन । चुच्चो नक्सा ल्याएर ओलीले आफ्नो ‘राष्ट्रवादी’ छवि फेरि मबजुत पारे । यसअघि नाकाबन्दीमा अडान लिएकाले ओलीले चुनावमा लाभ लिन सकेका थिए । ठीक त्यसैगरी सत्तामा रहँदा चुच्चो नसाबाट लोकप्रियता बटुले । कोरोना महामारीमा सरकार आलोचित भइरहँदा चुच्चो नक्सा ओलीका लागि लोकप्रिय बन्ने ऊर्जा बन्यो ।
बितेका केही महिनामा तीव्र रूपमा विकसित घटनाक्रमहरूमा रोचक परिदृश्यहरू धमाधम देखा पर्दैछन् । जसको केन्द्रबिन्दुमा ओली नै छन् । हिंसात्मक गतिविधिमा लागेर भूमिगत रहेको नेत्रविक्रम चन्द विप्लव शान्ति प्रक्रियामा अकस्मात आइपुगे । त्यो पनि ओलीको सत्ता संकट चुलिइरहेको बेलामा । विप्लवले बालुवाटारमै पुगेर ओलीसँग हातेमालो गरे । उनले जनमत संग्रहको मुद्दालाई अगाडि सारे । विप्लव शान्तिपूर्ण राजनीतिक मूलधारमा आउनु सुरक्षित अवतरणका रूपमा मात्र हेरिनु गल्ती हुन सक्छ । यसका पछाडि दीर्घकालीन योजनाहरू लुकेको देखिन्छ । संसदीय व्यवस्थाको विकल्प खोज्ने र व्यक्ति बलियो हुने कार्यकारी राष्ट्रपतिको शासन प्रणालीमा एकथरी शक्तिको चाहना देखिन्छ । विप्लवले जनमत संग्रहको मुद्दा उठाएर उनीहरूलाई सहज बनाइदिएका छन् । जनमत संग्रहको यो मुद्दाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विरोधीहरूलाई पनि हर्षित बनाएको छ । यो राजनीतिक रंगमञ्चको रोचक परिघटना हो ।
संविधान च्यातेको एउटा ठूलो तप्का यतिबेला संविधान बचाउन लागिपरेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको भनाइअनुसार यो फुटबलमा हाफटाइमपछि गोल पोस्ट र क्षेत्र परिवर्तन भएको जस्तै हो । हुन पनि संविधान जारी गर्ने ठूलो तप्का नै संविधान संकटमा पार्न तल्लीन भएको थियो । कुनैबेला संविधान संशोधनको पक्षमा उभिएर संविधान नै च्यातेकाहरू एकीकृत भएर बनेको जनता समाजवादी पार्टी संविधानको रक्षामा आवाज उठाउन तल्लीन भयो । यो नेपाली राजनीतिको रोचक घटना बनेको छ । सम्भावनाको खेलहरूले भरिएको राजनीतिमा यस्ता घटनाहरू सामान्य लाग्न सक्छन् । तर, सबैभन्दा मुख्य विषय मूल्य, मान्यता र नैतिकताको विषय हो । जसले राजनीति गर्नेहरू देश र जनताप्रति जवाफदेही बनाउँछ र भावी पिँढीका लागि पनि सकारात्मक सन्देश प्रवाह गर्न सफल हुन्छन् । त्यो विशाल हृदय अहिलेको राजनीति गर्नेहरूमा देखिएको छैन । उनीहरू देश र जनतालाई दाउमा राखिरहेका छन् । सिद्धान्त त तिनका लागि आवरण मात्र भएको छ । जसले जुनसुकै बेला जुनसुकै मुद्दा उठाएर शक्तिमा पुग्ने भ¥याङ रोज्न सक्छ । धर्मको मुद्दा यसरी नै कसैले उठाएमा आश्चर्य नमाने हुन्छ । धर्म या अन्य कुनै मुद्याहरु ब्रम्हास्त्रका रुपमा प्रयोग गर्नेहरु निस्कन सक्छन् । केपी शर्मा ओली या अरु कुनै प्रभावशाली नेताले त्यस्तो ब्रम्हास्त्र प्रयोग गरे आश्चर्य नमाने हुन्छ । किनकि अहिले रोचक घटना परिघटनाहरू विकास भइरहेका छन् । यो क्रम अझै चलिरहने निश्चित छ ।
-रिपोर्टर्स क्लब नेपालको स्मारिकामा प्रकाशित विश्लेषणबाट