Logo

फोटोपत्रकार कालिकोटे ‘बाबुछिरी फोटो पत्रकारिता पुरस्कार’ बाट सम्मानित



काठमाडौं, १८ चैत्र । रिपोर्टर्स नेपाल डटकमका फोटोपत्रकार मुकुन्द कालिकोटे रिपोर्टर्स क्लब नेपालको यो वर्षको ‘बाबुछिरी फोटो पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । क्लबको २३औं वार्षिकोत्सवको अवसरमा हिजो (मंगलबार) काठमाडौंमा आयोजित विशेष समारोहका बीच पत्रकार कालिकोटेलाई उक्त सम्मान प्रधानमन्त्री केपी शर्मा ओली र क्लबका सभापति ऋषि धमलाको हातबाट प्रदान गरिएको हो । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय कालिकोटेलाई प्रदान गरिएको उक्त पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

क्लबले यस वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ उज्यालो मल्टीमिडिया प्रालिका कार्यकारी अध्यक्ष/सञ्चालक गोपाल गुरागाईंई प्रदान गरेको छ । यो पुरस्कारको राशि १ लाख रुपैयाँ छ । ५० हजार रुपैयाँको ‘तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल र नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक शालिक सुवेदीलाई प्रदान गरिएको छ ।

‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई र ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई दिइएको छ । ‘सहिद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार’ बाट नागरिक दैनिकका बालकृष्ण अधिकारी पुरस्कृत भएका छन् ।

त्यस्तै, वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबीसी टेलिभिजनका अनन्त अनुराग, उत्कृष्ट युवा पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका जीवन भण्डारी, डीसी नेपालका मदन कोइराला र प्राइम टाइम्स टेलिभिजनका दीपक अर्याललाई प्रदान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्