Logo

एमालेमा ओलीद्वारा को को कारबाहीमा परे



काठमाडौं, १९ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र आफ्ना विरोधीमाथि कठोर बनेका छन् । आक्रामक रणनीतिका साथ प्रस्तुत हुँदै आएका उनले पूर्वमहासचिव माधवकुमार नेपाललाई निलम्बन नै गरे ।

नेपालसँग ओलीको लामो सहकार्य हो । दुवै जना विगतमा एमाले फुट्दा एउटै गुटमा थिए । तर, ओलीले स्पष्टिकरण लिएर पार्टी हितविपरित काम गरेको भन्दै ६ महिना निलम्बन गरे ।

ओलीले नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष भीम रावललाई पनि कारबाही गरेका छन् । उनलाई माधवकुमार नेपालसँगै ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका हुन् । रावल लामो समययता ओलीको कट्टर आलोचक बन्दै आएका थिए ।

१९ चैत्रमा कारबाहीमा पर्नेमा सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि छन् । पाण्डे नवौं महाधिवेशनमा महासचिवमा पराजित भएका थिए । उनी नेपाल समूहका प्रभावशाली नेता मानिन्छन् ।

घनश्याम भुसाल सैद्धान्तिक नेताका रुपमा परिचित छन् । उनलाई पनि ओलीले स्पष्टिकरण सोधेर ६ महिनाका लागि निलम्बन गरेका छन् । भुसालले मन्त्री हुँदा नै प्रतिनिधि सभा विघटन गराउने ओलीको कदमलाई कम्युनिस्ट नेताहरुको सामूहिक आत्महत्याको संज्ञा दिएका थिए । उनले ओलीमाथि कम्युनिस्ट आन्दोलन नै समाप्त पारेको आरोप लगाउँदै आएका थिए ।

यसैगरी, ओलीले माधव नेपाल समूहका अन्य नेताहरुलाई पनि धमाधम कारबाही गर्ने तयारी गरेको बुझिएको छ । अब कारबाहीमा पर्नसक्नेमा योगेश भट्टराई, रामकुमार झाँक्रीलगायत रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot