Logo

कार्यान्वयन हुन सक्ने बजेटमात्रै प्रस्ताव गर्न निर्देशन



काठमाडौं, चैत २०। पूर्वतयारी विनै दबाब र प्रभावका आधारमा वार्षिक कार्यक्रम बजेटमा राख्न हतार गर्ने र आर्थिक वर्षको अन्त्यतिर मन्त्रालयहरूले बजेट फिर्ता गर्ने परीपाटी बढेपछि अर्थ मन्त्रालयले कार्यान्वयन हुनसक्ने बजेटमात्रै प्रस्ताव गर्न सचेत पारेको छ ।

चैतसम्म पनि पूर्वतयारीको काम पूरा गर्न नसकेका आयोजनाको बजेट फिर्ता हुन्छ । पछिल्ला वर्षहरूमा बजेट नै खर्च नगर्ने र, आर्थिक वर्षको अन्त्यमा फिर्ता गर्ने प्रवृत्ति बढ्दै गएको अर्थका अधिकारीहरू बताउँछन् ।

आर्थिक वर्षको अन्त्यमा बजेट फिर्ता गर्ने प्रवृत्तिले सरकारी अधिकारीहरूको बजेट विनियोजन क्षमतामा नै प्रश्न उठेपछि खर्च गर्न नसक्ने खालका कार्यक्रम बजेटमा पेश नै नगर्न मन्त्रालयहरूलाई अर्थले निर्देशन दिएको छ । ‘बजेट सरेन्डर गर्ने परिपाटी धेरै समयदेखि रहिरह्यो, यस्तो प्रवृत्तिलाई आगामी वर्षबाटै हटाउनुपर्छ भन्ने मनसायले अर्थमन्त्रीले अहिले कडाइ गर्नुभएको छ,’ बजेट निर्माणमा सहभागी अर्थका एक उच्च अधिकारीले भने ।

उनका अनुसार अर्थमन्त्री विष्णु पौडेलले मन्त्री तथा सचिवहरूलाई कार्यान्वयन हुन नसक्ने बजेट प्रस्ताव नगर्न बजेट तर्जुमाका लागि जुटिरहेका अधिकारीहरूलाई सचेत गराइरहेका छन् ।

बजेट तर्जुमासम्बन्धी बिहीवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग मन्त्री पौडेलले गरेको छलफलमा समेत यही विषयलाई उनले पटकपटक दोहोर्‍याए ।आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरू मात्र प्रस्ताव गर्न मन्त्री पौडेलले आग्रह गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot