काठमाडौं, चैत २० । सरकारी स्वामित्वको बजार भए पनि किसानले स्टल राखेर तरकारी बिक्री गर्न नपाएको गुनासो गरेपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पहिलोपटक किसानका लागि स्टलको व्यवस्था गरेको छ। समितिले १२ वटा स्टलको व्यवस्था गरेपछि किसानले तरकारी ल्याएर बुधबारदेखि बिक्री गर्न सुरु गरेका छन्।
कालीमाटीमा व्यापारीले सटर लिएर तरकारी तथा फलफूल बिक्री गर्दै आएका थिए। किसानले उत्पादन गरेको तरकारी व्यापारीले किनेर बेच्दा उत्पादकले उचित मूल्य नपाएको र उपभोक्ताले ज्यादै धेरै तिर्नुपरेको गुनासो व्यापक छ। किसानले उत्पादन गरेको तरकारी तथा फलफूललाई कालीमाटीमा आफैं बिक्री गरुन् भनेर स्टल उपलब्ध गराएको समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले बताए। ‘किसानले उत्पादन गरेको तरकारी अब सिधै कालीमाटी ल्याएर बिक्री गर्न सक्छन्,’ भट्टराईले भने, ‘बजारको तह घटाउन किसानका लागि स्टलको व्यवस्था मिलाएका हौं।’
बिचौलियाका कारण किसानले उचित मूल्य नपाएको र उपभोक्ताले चर्को तिर्नुपरेको गुनासो छ। दुई दिनका लागि परीक्षणस्वरूप निःशुल्क स्टलको व्यवस्था गरेको भट्टराईले बताए। किसानले न्यूनतम दुई टन तरकारी ल्याउनुपर्नेछ। थोरै स्टल भएकाले पहिला आउने किसानले स्टल पाउने छन्। बेलुका ७ बजे ल्याएर तरकारी राखेको किसानले भोलिपल्ट दिउँसो ४ बजेटसम्म स्टलबाट तरकारी बिक्री गर्नुपर्छ। ‘एक किसानले एकपटकमा २१ घन्टाका लागि स्टल पाउँछ,’ उनले भने, ‘जो पहिले आउँछ उसैलाई दिन्छौं।’ समितिका अनुसार स्टलमा दुई सय टन तरकारी होल्ड गरेर बिक्री गर्दा पाँच सय रूपैयाँ तिर्नुपर्छ स्टलमा सामान राखेबापत किलोको २० पैसा तिनुपर्छ।
किसानले बारीबाट सिधै कालीमाटी ल्याएर बेच्दा बजारको तह घट्ने कार्यकारी निर्देशक भट्टराईले बताए। ‘खेतबरीबाट सिधै बजारमा आउने भएकाले बिचौलिया प्रवृत्ति घट्छ,’ उनले भने। किसानले स्टलमा राखेको तरकारी मोलमोलाइ ९बार्गेनिङ० गरेर बेच्न पाउँछन्। खुद्रा बिक्री गर्न भने पाउँदैनन्। ‘होलसेलमा तरकारी बिक्री गर्नुपर्छ,’ उनले भने, ‘सिधै व्यापारीसँग मोलतोल गर्न पाउने भएकाले उचित मूल्य पाउँछन्।’ कालीमाटी बजारमा करिब पाँच सय स्टल छन्।
त्यहाँका प्रायः सबै स्टल १५ वर्षका लागि व्यापारीले सम्झौता गरेर लिएका छन्। ठाउँ अनुसार प्रतिस्टल आठदेखि १४ हजार रूपैयाँ भाडा लिने गरेको बजारका सूचना अधिकारी विनय श्रेष्ठले बताए। किसानका लागि स्टलको व्यवस्था गरेपछि बिचौलिया प्रवृत्ति न्यूनीकरण हुने अपेक्षा गरिएको छ। कालीमाटीमा ल्याएपछि बजारमा चलेको मूल्यमा किसानले आफ्नो उत्पादन गर्न बिक्री गर्न पाउँछन्। नागरिक दैनिकबाट