Logo

राष्ट्रपति भण्डारीद्वारा मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन, प्रधानमन्त्रीपनि सहभागी (फोटोफिचर)



काठमाडौं, २० चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरेकी छिन् । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागिता रहेको थियो ।

मेलम्ची खानेपानी आयोजना निर्देशनालयले भृकुटीमण्डपमा ढुंगेधारा बनाएको छ । उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ लगायतका मन्त्रीहरुको पनि सहभागिता रहेको थियो । भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधारामा साना ठूला गरी तीनवटा धारा छन् । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यकाका सर्वसाधरणले आइतबारदेखि नै मेलम्चीको पानी खान थालिसकेका छन् ।

हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन विराएर पानी पठाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ । हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको आयोजनाले जनाएको छ । त्यस्तै आजदेखि बालाजु ट्यांकीबाट त्यस क्षेत्रमा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्