काठमाडौं, चैत २१ । सरकारले खेसरी (दालको जात) उत्पादन र बिक्री वितरणमा बन्देज लगाएको पाँच दशक बढी भइसकेको छ तर अझै यसको उत्पादन र बिक्री वितरण रोकिएको छैन ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले स्वास्थ्यका लागि हानिकारक भनेर प्रतिबन्ध लगाएको खेसरी नेपालको तराईका जिल्लामा अहिले ठूलो परिणाममा उत्पादन गरी दाल, पापड र पकौडामा उपभोग गर्दै आएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य नियमावली २०२७ आएदेखि नै नेपालमा खेसरीको उत्पादन, विक्रीवितरण र उत्पादनमा कानुनी रूपमै बन्देज लगाएको थियो ।
सिराहा औरही गाउँपालिका–५ का अगुवा किसान श्रीदेव यादवले तराईमा अहिले पनि खेसरी प्रत्येक घरमा उत्पादन हुने गरेको बताए । उनले भने, “तराईका कतिपय घरमा अहिले पनि खेसरी र मुसुुरो दाल मिसाएर खाने चलन छ । अझै बढी त खेसरीको पापड र पकौडा बढी खाने गरिन्छ । ”
उनका अनुसार तराईमा दालसहित खेसरी सागका रूपमा पनि खाने गरिन्छ । खेसरी उत्पादन र उपभोग गर्न नहुने विषयमा त्यस क्षेत्रका स्थानीयवासीलाई जानकारी नै नभएको पनि उनले बताए।
उद्योग वाणिज्य सङ्घ प्रदेश २ का अध्यक्ष ललित शाहले खेसरी स्वास्थ्यका लागि हानिकारक भनिए पनि तराईका ग्रामीण क्षेत्रमा यसको दाल खाने चलन छ तर बजारतिर भने त्यति धेरै नपाइने बताए । उनले भने, “खेसरी पहिले धेरै परिणाममा उत्पादन हुुनेगथ्र्यो र बजारसम्म पनि आइपुुग्थ्यो । अहिले गाउँतिर उत्पादन गरेर गाउँकै बजारतिर बिक्री गरिन्छ भन्ने सुुनिन्छ । ”
विभागका निर्देशक मोहनकृष्ण महर्जनले खेसरी स्वास्थ्यका लागि हानिकारक भन्दै डब्लूएचओले प्रतिबन्ध लगाएपछि विभागले पनि त्यसको उत्पादन र बिक्री वितरण रोकेको बताए तर सोही विभागका खाद्य अनुुसन्धान विज्ञ ईश्वर सुवेदीले भने अहिले पनि खाद्य अनुुज्ञापत्र नलिएका पापड, पानीपुुरी, बेसनलगायतमा खेसरी प्रयोग हुने गरेको स्वीकार गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।