Logo

कांग्रेसको निर्णयको स्वागत गर्दै देव गुरुङले भने–‘विकल्पको सरकार बनाउने एउटा ढोका खुलेको छ’ (भिडिओसहित)



नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार बनाउन पहल गर्ने नेपाली कांग्रेसको हिजोको निर्णयको स्वागत गरेका छन् । उनले भने,‘कांग्रेसको हिजो निर्णय स्वागतयोग्य छ ।’ उनले पुष ५ गते संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमन भनेको र उक्त कदम सच्चिनुपर्ने भनेको र अदालतले संसद पूनःस्थापना गरेपनि अहिले संसद् सुचारु नभएको गुनासो पोखे ।

प्रधानमन्त्री ओलीको सोच अहिलेपनि संसद् विघटन गर्नेतर्फ नै केन्द्रित रहेको उनको आरोप छ । उनले भने,‘हालै राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा पनि उहाँले पटक पटक यो संसद चल्न सक्दैन् र फेरि पनि विघटन गर्नुपर्ने कुरा राख्नुभयो । संसद विघटन गर्न सहमति चाहियो भन्नुभयो । प्रधानमन्त्री पुष ५ गतेकै मनस्थितिमा हुनुहुन्छ ।’

उनले वर्तमान सरकारले संविधानविरोधी काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने थियो भन्ने भनाई राखे । उनले भने,‘संविधानतः हामीले पुष ५ गते समर्थन फिर्ता लिएसरह हो । यो सरकार त संसद विघटन गर्नेबित्तिकै कामचलाउ सरकार हो ।’  उनले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु वा नलिनुको कुै अर्थ नभएको पनि जिकिर गरे । उनले भने,‘फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विभाजन गरिदियो । यो सरकार स्वतः केयर टेकरमा परिणत भैसक्यो । धारा १०२ अनुसार प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।’ उनले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि पनि आफूहरु खुल्ला नै रहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले राजीनामा दिनपनि नमानेको र केयर टेकर भनेर स्विकार पनि नगरेको उनले सुनाए । उनले अब दलहरुको बीचमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव मुभ गर्ने कि समर्थन फिर्ता लिनेबारे जे सहमति हुन्छ त्यसमा आफूहरु ओपन रहेको स्पष्ट पारे । उनले संविधानको रक्षा गर्नुको विकल्प नभएको बताए । उनले भने,‘अहिलेको उपलब्धि रक्षा गर्नुपर्छ । पुष ५ गतेपछि संवैधानिक लोकतान्त्रिक गणतन्त्र सिध्याउने ट्रेण्ड देखापर्यो । संविधानका धारा, धफाहरु सबै उल्लंघन गर्दै जाने ट्रेण्ड एण्ड टेण्डेन्सी सरकारबाटै देखापर्यो ।’

उनले संविधानको रक्षा गर्ने दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने जनाए । उनले भने,‘अहिले संविधान रोज्ने कि यात प्रधानमन्त्रीज्यू रोज्ने भन्ने स्थिति पैदा भएको छ । यो अवस्थामा हामी अग्रगमनको पक्षमा जानुको विकल्प छैन् ।’ कांग्रेसले हिजो गरेको निर्णयले एउटा ढोका खुलेको भन्दै अब यहीअनुसार प्रक्रिया अघि बढ्ने गुरुङको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot