Logo

सडक सुरक्षा र गुणस्तरलाई प्राथमिकता दिई ‘गुरुयोजना’



काठमाडौं, चैत २३ । मुलुकभित्र सडक सञ्जाल विस्तार भएसँगै सडक सुरक्षा र गुणस्तरीय संरचना निर्माणलाई उच्च प्राथमिकता दिई गुरुयोजना बनाउने तयारी सरकारले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले देशभरका सडक पूर्वाधार निर्माणका लागि गुरुयोजना बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

आइतवार मन्त्रालयस्तरीय विकास समस्या समधान समितिको बैठकमा मन्त्री नेम्वाङले गुरुयोजना बनाउन निर्देशन दिएका हुन् । निर्देशनअनुसार चालू आवको हालसम्म गरी करीब १ लाख किमी सडक सञ्जाल विस्तार हुँदै गर्दा अब यसलाई सुरक्षित र गुणस्तरीय बनाउने गरी सडक विभागले गुरूयोजना तयार गर्ने भएको हो । हाल मुलुकभरको सडक सञ्जाल झण्डै १ लाख किलोमिटर ९किमी० सम्म विस्तार भएको छ । अहिले पनि देशका विभिन्न भागमा रहेका सडकहरू १२ महीना नै सञ्चालनमा छैनन् भने १२ महीना नै चल्ने सडकको पहुँच पनि कम नै रहेको छ ।

बैठकमा उनले भने, ‘अहिले निर्माणको सिजन भएकाले आयोजनाहरूको साइटमा जानुपर्छ, अनुगमनलाई उच्च प्राथमिकता दिनुपर्छ र फाइलमात्रै डुलाएर हुँदैन, अन्तरनिकायबीच समन्वय हुनुपर्छ ।’

आयोजनाहरू शुरू गरिए पनि मुआब्जा तथा जग्गा अधिग्रहणका कारण समस्या हुँदै आएको र त्यसलाई समाधान गर्न छुट्टै कार्यदल बनाउनेतर्फ पनि ध्यान दिन मन्त्री नेम्वाङले जोड दिए ।

नेपालले अहिले ५ वर्षे सडक रणनीति बनाई काम गरिरहेको छ । तर, अहिले सडक लक्षित दीर्घकालीन योजना नभएका कारण नै समग्र सडक पूर्वाधारलाई समेट्ने गरी गुरुयोजना बनाउने विषयमा मन्त्रीको निर्देशन आएको एक अधिकारीले बताए ।

उक्त रणनीतिको म्याद २०२२ मा सकिँदै छ । त्यसपछिको दशकमा के गर्ने र सडक पूर्वाधारलाई कसरी सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने भन्ने विषयमा ठोस रणनीति आवश्यक पर्ने उनले बताए । आगामी दशकमा के गर्ने भन्ने रणनीति बनाउने गरी नै गुरुयोजना बन्ने उनको दाबी छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्