Logo

वाणिज्य बैंकमा सातामै थपियो ४० अर्ब निक्षेप



काठमाडौं, चैत २३ । वाणिज्य बैंकहरूमा केही समय अघिदेखि अधिक लगानी योग्य पूँजी (तरलता) भइरहेकोमा पछिल्लो साता निक्षेप संकलन ह्वात्तै बढेको छ । नेपाल बैंकर्स संघले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार चैत तेस्रो साता २७ वाणिज्य बैंकमा ४० अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

चैत २० गतेसम्ममा उक्त निक्षेप थपिँदा कुल निक्षेप ३८ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो साता १० अर्बले निक्षेप बढ्दा कुल निक्षेप संकलन ३८ खर्ब ५० अर्ब रुपैयाँ पुगेको थियो ।

सरकारले विकास खर्च धेरै गर्ने समय नजिकिँदै गरेकाले निक्षेप थप बढ्ने र बजारमा अधिक तरलता हुने बैंकरहरू बताउँछन् । सरकारले चौथो त्रैमासमा बढी खर्च गर्ने प्रचलन भएकाले बजारमा पैसा बढी आउने र निक्षेप संकलन अझै बढ्ने सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल बताए । यद्यपि अहिले कर्जा प्रवाह र निक्षेप संकलन दुवै करीब उस्तै गतिमा बढेको उनको भनाइ छ ।

यस्तै, पछिल्लो साता कर्जा कर्जा ३९ अर्बले थपिएर कुल कर्जा प्रवाह ३५ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । चैत दोस्रो साता २८ अर्बले कर्जा प्रवाह थपिँदा कुल ३४ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot