Logo

कर्णाली प्रदेश: एमालेका मन्त्रीले राजीनामा दिने



सुर्खेत, चैत २३ । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूले सोमबार राजीनामा दिने भएका छन्। आइतबारको संसदीय दलको बैठकले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको थियो। मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको वर्तमान सरकारमा एमालेकातर्फबाट तीन जना मन्त्रीहरू सहभागी छन्।

‘२४ गते फेरि दलको बैठक बस्दैछ, सोमबार एमालेकातर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिनुहुन्छ,’ सांसद सुशील थापाले भने, ‘अब कर्णालीमा नेकपा एमाले नेतृत्वको सरकार बन्छ।’ बैठकमा एमालेका सबै सांसदहरूको उपस्थिति रहेको थियो। एमाले संसदीय दलको बैठकमा एमालेका १९ जना सांसद छन्।

एमालेको चैत ४ गतेको दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको थियो। उक्त निर्णयलाई पनि बैठकले अनुमोदन गरेको छ। ‘चैत ४ गते बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता दिने निर्णय गरेको थियो, उक्त निर्णय अनुसारनै अघि बढ्छौं,’ उनले भने, ‘सत्ता साझेदार दलका मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्रीले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ।’

मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा एमालेकातर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्