काठमाडौं, २४ चैत्र । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि नेविसंघले घेराउ र बिरोध प्रदर्शन गरेको हो ।
बिरोध प्रदर्सनमा नेविसंघका महामन्त्री बलदेव तिमल्सिना ले कोरोना महामारीपछि जनजीवन असामान्य बनिरहेको,रोजगारी र आयस्रोत गुमेको र जनजीवन झन कष्टकर बनिरहेको बेला सरकारले मूल्यवृद्धि गरेर जनताको शोषण गरिरहेको बताए ।
अत्यावश्यकिय उपभोग्य बस्तु पेट्रोलियम पदार्थको चरम मुल्य वृद्धि गराउनुले सबै क्षेत्रमा मूल्यवृद्धि गरेर जनताको शोषण गर्न उद्यत भ्रष्ट सरकारको नियत नै जनता लाई दुःख दिने रहेको भन्दै महामन्त्री तिमल्सिनाले निरन्तर खबरदारी गरिने बताए ।
आयल निगमले आइतबार रातिदेखि लागूहुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ ।