Logo

जसपाभित्र दुई धार: ओलीतिर महन्थ, प्रचण्डतिर उपेन्द्र



काठमाडौं, २४ चैत्र । जनता समाजवादी पार्टी एउटै दल भएपनि धार स्पष्ट फरक देखिएको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै फरक धारमा छन् ।

ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक छन् । उनी ओलीसँगै सत्ता समिकरणसम्मको रणनीति बनाइरहेका छन् । ठाकुरको साथमा राजेन्द्र महतो, शरदसिंह भण्डारी, राजकिशोर यादवलगायतका नेताहरु छन् ।

उपेन्द्र यादव कुनै हालतमा ओलीसँग समिकरण बनाउन नहुने पक्षमा छन् । उनी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर काँग्रेस, माओवादी केन्द्र र जसपाको समिकरणको सरकार बनाउनुपर्ने पक्षमा छन् । प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमविरुद्ध उभिएकाहरु एकजुट हुनुपर्ने पक्षमा यादव छन् ।

उपेन्द्रको साथमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि छन् । भट्टराई ओलीविरुद्ध खरो रुपमा उत्रिदै आएका छन् ।

सत्ता समिकरणको खेलले राजपाभित्र धाजा फाटिसकेको छ । तर, यसै कारण राजपा फुट्ने सम्भावना भने देखिदैन । अहिलेको राजपाको ध्रुवीकरणलाई प्रधानमन्त्रीको दाबी बलियो बनाउने रणनीतिका रुपमा पनि बुझिएको छ । राजपाले सरकारको नेतृत्व पाएमा भने ओलीविरोधी समिकरण बन्ने सम्भावना बलियो हुन सक्छ । त्यतिबेला महन्थ ठाकुर या डा.बाबुराम भट्टराईमध्ये एक प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ ।

प्रतिनिधि सभामा राजपासँग ३४ सांसदमध्ये २ जना रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन् । ३२ जनाले मतदान गर्न पाउने भएकाले राजपा नयाँ सरकारका लागि सत्ता समिकरण बन्न निर्णायक शक्ति बनेको छ ।



प्रतिक्रिया दिनुहोस्