बुटवल, चैत २५ । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी कारबाहीमा परेका छन्। प्रदेशसभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन्। नेकपा माओवादी केन्द्रको संसदीय दलको चैत १३ गतेको निर्णयअनुसार दल परित्याग गरेका न्यौपाने र पन्थीको पद मंगलबारको प्रदेशसभाको बैठकले रिक्त भएको घोषणा गरेको हो।
न्यौपाने रूपन्देही क्षेत्र नंं १(२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(ख)बाट निर्वाचित प्रदेशसभा सदस्य थिए। दुवैले माओवादी परित्याग गरी ओली नेतृत्वको एमालेको केन्द्रिय सदस्य बनेका थिए। प्रदेशसभाको नियमावलीको १ सय ९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त रहने मानिने छ।
नेकपा मओवादी केन्द्र केन्द्रीय कार्यालयको जानकारी तथा प्रदेशसभा संसदीय दलको निर्णयको पत्र सचिवालयमा प्राप्त भएको जानकारी मंगलबारको बैठकमा सभामुखले गराएका थिए। त्यससगै सभामुखले चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने देखिएपछि लुम्बिनी प्रदेशमा सरकारले सोमबारै संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा तीन दल जुटेपछि सोमबार मन्त्रिपरिषद् बैठक बसेर हतारमा अधिवेशन अन्त्यको निर्णय गरिएको थियो।
मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरूले हस्ताक्षर सुरु गरेको सुइँको सोमबार सरकारले पनि पाएको थियो। नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद सरकारविरुद्धको हस्ताक्षर अभियानमा छन। तर जसपामा भने आन्तरिक विवाद देखिएको छ। नागरिक दैनिकबाट