Logo

प्रचण्डमाथि प्रभु साहको टिप्पणीः फेरि नांगै भएका छन्



काठमाडौं, २५ चैत्र । सहरी विकासमन्त्री प्रभु साहले निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको कदमलाई निरंकुशताको पराकाष्ठा भनेका छन् । उनले आज सामाजिक सञ्जालमा प्रचण्डले आफूसहित माओवादी केन्द्र परित्याग गरेका चार निर्वाचित सांसदलाई पनमुक्त गर्ने हिजोको निर्णयलाई लोकतन्त्रकै उपहास भनेका छन् ।

साहले प्रचण्डले चुनाव जित्नलाई नेकपा एमालेसँग सहकार्य र एकता गरेको समेत उल्लेख गरे । नेकपा अध्यक्षकै हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिले सरकारलाई समर्थन दिइराखेको अवस्थामा निर्वाचित जनप्रतिनिधिमाथि दल त्यागको कानुनी डण्डा चलाउन नैतिकताले नसुहाउने टिप्पणी समेत गरेका छन् ।

प्रचण्डतर्फ संकेत गर्दै साहले लेखेका छन्, ‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनःस्थापनाको पक्षधर बताउनेहरु आज फेरि नांगै भएका छन् ।’ उनले सांसदहरुको पदमाथि अनुचित रुपमा हमलाको दुष्प्रयास गरको भन्दै प्रतिगामी कदमको आरोप लगाए ।

साहले फेसबुक पेजमा लेखेका छन्ः #निर्वाचित_सांसदलाई_पदमुक्त_गर्ने_प्रचण्डको_कदम_निरंकुशताको_पराकाष्ठा

जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो । आफु चुनाव जित्नलाई नेकपा एमालेसंग एकता/सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिईराख़्नेहरूले हामी साझा घोषणा-पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथी कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउदैन । निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफुलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएकाछन । अर्थात् रूपमा अहिलेकैं संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक/कानूनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुसप्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो ।


प्रतिक्रिया दिनुहोस्