Logo

हलेसीमा वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने



खोटाङ, २५ चैत्र । त्रिधार्मिकधाम खोटाङको हलेसीमा हलेसी वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने भएको छ । दर्शनका लागि देश–विदेशबाट हलेसी आउने पर्यटकलाई आकर्षित गर्न युवाको सामूहिक लगानीमा हलेसी वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण गर्न लागिएको हो ।

करिब रु पाँच करोडको लागतमा निर्माण सम्पन्न हुने फनपार्क प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका हुन्। पत्रकार अनुज खड्का, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडासदस्य नीरजमानसिंह बस्नेतलगायत चार युवाको लगानीमा हलेसीमा फनपार्क निर्माणको काम शुरु गरिएको हो ।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी दर्शनका निम्ति आउने दर्शनार्थी एवं पर्यटकलाई घुमफिरका लागि उपयुक्त मनोरञ्जनस्थलका रूपमा फनपार्कको योजना अगाडि सारिएको निर्माता बस्नेतले बताए । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने हलेसीमा निर्माण हुने फनपार्कमा टायर गार्डेन, जङ्गल रिसोर्ट, पाइनापल ९भुइँकटहर० गार्डेन, चिडियाघर, मिनीमार्केट, बेम्बो कटेज, नाटकगृह, रोधीघर, सेल्फीजोन र बोतल हाउस निर्माण गरिने जनाइएको छ ।

पर्यटकको मनोरञ्जनका निम्ति रुखमाथि निर्माण गरिएको टी हाउस, बाँसबाट बन्ने हवाईजहाज, बस तथा अन्य सामग्री, फोटो खिच्नका निम्ति आकर्षक कलाकृति, पुराना टायरद्वारा निर्माण गरिने टायर गार्डेन, बियरका खाली सिसी प्रयोग गरेर निर्माण गरिने आकर्षक घर–टहरालगायतका भौतिक संरचना निर्माण गर्ने योजना छ । यसका साथै पार्कमा नेपालमा थोरै मात्र पाइने र विश्वभरबाट सङ्कलन गरिएका पक्षीको सङ्ग्रहालय पनि राखिने बताइएको छ ।

हलेसी मन्दिरबाट उत्तर–पश्चिममा निर्माण हुने सो फनपार्कमा रुखमा झुण्डिएको चराको गुँड आकृतिको मान्छे बस्न मिल्ने टहरा, उत्पादन पनि दिने र आकर्षक देखिने भुँइकटहर तथा घिउकुमारीको गार्डेन र विभिन्न प्रजातिका फूलबारी पनि निर्माण गर्ने उद्देश्य छ । फनपार्क निर्माता समूहमा सकेसम्म खोटाङका युवालाई प्राथमिकता दिने जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्