काठमाडौं, २५ चैत्र । सर्वोच्च अदालतले बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ । आज सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिस्काः जात्रा नगर्न गरेको निर्णयविरुद्ध अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेकोमा सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । राजनीतिक दलहरुले सभा सम्मेलन गर्ने तर धर्मसंस्कृतिसम्बन्धी कार्यक्रम रोक्न प्रशासनले आदेश जारी भन्दै आलोचना भएको थियो ।
कोरोना भाइरसको जोखिम बढेको भन्दै प्रशासनले जात्रा रोक्न आदेश जारी गरेको थियो । अदालतले स्वास्थ्य मापदण्ड पालना गरेर जात्रा सञ्चालन गर्न आदेश जारी गरेसँगै २८ चैत्रबाट भक्तपुरमा बिस्काः जात्रा हुने निश्चित भएको छ ।