Logo

पत्रकार महासङ्घ लमजुङको अध्यक्षमा अधिकारी



लमजुङ, २६ चैत: नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको अध्यक्षमा परमेश्वर अधिकारी निर्वाचित भएका छन् । बुधबार भएको पत्रकार महासङ्घको निर्वाचनमा महासङ्घ लमजुङमा प्रेस युनियन र प्रेस सङ्गठन प्यानलका अधिकारी तीन मतले विजयी भएका हुन्।

नवनिर्वाचित अध्यक्ष अधिकारीले २९ मत ल्याउनुभएको थियो भने प्रेस चौतारीबाट अध्यक्षका उम्मेदवार आश गुरुङले गुरुङले २६ मत ल्याए । त्यस्तै उपाध्यक्षमा भने प्रेस चौतारीका अनुज अधिकारी २९ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी युनियनका सन्देश पौडेलले २६ मतसहित पराजित भएका छन् । महिला उपाध्यक्षमा युनियन–सङ्गठन प्यानलकी शान्ता कमली ३१ मतसहित विजयी हुँदा प्रेस चौतारीबाट बेलिना थापाले २४ मत प्राप्त गरेका थिए ।

सचिवमा युनियनका रुद्रहरि ढकाल ३० मतसहित विजयी हुँदा चौतारीका सरोज विकले २५ प्राप्त गरेका थिए । त्यस्तै समावेशी सहसचिवमा श्यामशीतल परियार, खुला सहसचिवमा युनियन–सङ्गठन प्यानलकै घनबहादुर घिमिरे (जिवी), आदिवासी जनजाति सदस्यमा युनियन–सङ्गठनकै भरत राना विजयी भएका छन् ।

खुला सदस्यमा अजितजङ्ग थापा, नीरज अधिकारी, दीपेन्द्र रेग्मी, ऋषिराम अधिकारी र सुजन बानियाँ विजयी भएका छन् । त्यसैगरी केन्द्रीय परिषद् सदस्यमा युनियन–सङ्गठन प्यानलकै सन्तोष पौडेल ३० मत ल्याएर जित हासिल गरेका छन् ।

यसअघि कोषाध्यक्षमा युनियन–सङ्गठनका रवीन्द्र लामिछाने, महिला सदस्यमा सिर्जना बराल र चौतारीका दलित सदस्यमा डिबी मजाकोटी निर्विरोध चयन भएका थिए । प्रदेश प्रनितिधिमा कृष्ण आले, विमला अधिकारी, कृष्ण अधिकारी र युवराज श्रेष्ठ पनि निर्विरोध चयन भएका छन् । बुधबार भएको महासङ्घको निर्वाचनमा लमजुङमा कूल ५६ मध्ये ५५ मत खसेको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot