काठमाडौँ, २७ चैत । कुर्था–जयनगर रेलमार्गमा अरु सबै किसिमका तयारी पूरा भए पनि कानूनको अभावका कारण सो रेल सेवा शुरु हुन सकेको छैन । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो रेलमार्ग गत आर्थिक वर्षमा नै सम्पन्न भएको थियो । सो खण्डमा सञ्चालनका लागि सरकारले खरिद गरेको रेल छ महिना पहिले आइपुगेको थियो । रेल आएपछि सञ्चालनका लागि आवश्यक जनशक्ति र अरु प्राविधिक तयारी गरिएको नेपाल रेल्बे कम्पनी प्रालिका महानिर्देशक गुरु भट्टराईले बताए ।
उनले भने, “कानून बनेपछि तुरुन्त नै रेल चलाउन सकिनेछ ।” आवश्यक जनशक्ति र इञ्जिन ल्याउनका लागि भारत सरकारसँग सम्झौता भइसकेको कम्पनीले जनाएको छ । कानून नआउँदासम्म इञ्जिन ल्याउन नमिल्ने भएकाले ल्याउन नसकिएको उनले जानकारी दिए । रेलमार्गमा आवश्यक कतिपय जनशक्ति भारतबाट ल्याउनुपर्नेमा भारतीयसँग सम्झौता भइसकेको छ । उनले भने, “उनीहरु आउन तयार छन्, हामीले चाहिने भएपछि तत्काल ल्याउन सकिन्छ ।”
सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरिसकेको छ । भारतीय कम्पनी कोनकोन कम्पनीबाट रेल सेट खरिद गरिएको थियो । कम्पनीसँगको समन्वयमा प्राविधिक कर्मचारी २६ जना ल्याउन लागिएको छ । त्यसमा पाइलट, स्टेशन मास्टर, पावर म्यानेजर, सिनियर ट्राफिक म्यानेजरलगायतका रहने कम्पनीले जनाएको छ । नेपाली कर्मचारी र अरु प्राविधिक तयारी अवस्थामा रहेको महानिर्देशक भट्टराईले बताए । रेल र कम्पनीका सामग्री सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीको हुने बताइएको छ । रासस