काठमाडौं, २७ चैत्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको छ । त्यो पनि सार्वजनिक कार्यक्रममै ।
आज निजामती कर्मचारी युनीयनको आयोजनामा भएको कार्यक्रममा देउवा र पौडेल क्रमशः प्रमुख अतिथि र विशेष अतिथिका रुपमा पुगेका थिए । दुवै मञ्चमा बसिरहेका थिए । यसबीच पौडेलले उपसभापति विमलेन्द्र निधिसँग केहीबेर कुराकानी गरे । कार्यक्रम चलिरहँदा पौडेललाई देउवाले धारे हात लगाएर कडा बोली सुनाए ।
पौडेलले त्यसको प्रतिकार लगाए । उनले पनि धारे हात लगाएर देउवालाई चुनौती दिइरहेको देखिन्थ्यो । दुवै नेताबीच भनाभनको अवस्था भएपछि निधिले समन्वय गरेको देखिन्थ्यो ।
कार्यक्रममा पौडेलले देउवालाई चोटिलो व्यङ्ग्य गरे । एमालेको विवादको जोखाना हेर्दाहेर्दै एउटा मौका गुमिसकेको तर्क गरे । उनले देउवाको कार्यक्रमस्थलमै चर्को आलोचना गरेका थिए ।
सत्ता समिकरणको विषयमा पछिल्लो समय देउवा र पौडेलबीच विवाद बढेको छ । पार्टीको महाधिवेशनको विषयमा पनि पौडेल देउवासँग असन्तुष्ट छन् ।