काठमाडौं, चैत २९ । गतवर्ष नेपालमा कोरोना महामारी शुरू भएयता १ वर्षको अवधिमा पोल्ट्री क्षेत्रमा ३५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार महामारीका कारण होटेल, रेस्टुराँ, पार्टी प्यालेसजस्ता ठूलो परिमाणमा मासु खपत हुने स्थानहरू लामो समयसम्म बन्द हुँदा खपतको मात्रा घट्न गई नोक्सानी बढेको हो ।
करीब ६ महीना लामो बन्दाबन्दीका समयमा पोल्ट्री क्षेत्रले दैनिक २१ करोड ९५ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेकाले क्षतिको मात्रा बढेको हो । त्यस बेला नयाँ उत्पादन हुने चल्लामा दैनिक ३ करोड ४५ लाख रुपैयाँ, ब्रोइलर तयारी कुखुरामा १५ करोड रुपैयाँ, अण्डामा ३ करोड रुपैयाँ र पोल्ट्रीसम्बन्धी दानाको कच्चा पदार्थ आदिमा ५० लाख रुपैयाँको नोक्सानी हुँदै आएको थियो ।
यसरी वर्षभरिको सम्पूर्ण क्षतिको विवरण निकाल्दा करीब ३५ अर्ब रुपैयाँको हाराहारीमा क्षति भएको अनुमान गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।