काठमाडौं, चैत २९ । आफ्नै पार्टी नेतृत्वमा नयाँ सरकार गठन प्रयास निर्णय लिएको नेपाली कांग्रेसले बैठकको निर्णय औपचारिकता निभाउने प्रयास मात्रै गरेको छ ।
यद्यपि, कांगे्रसको मुख्य ध्यान भने नया“ सरकार गठनभन्दा निर्वाचनमा नै केन्द्रित रहेको स्रोतको दाबी छ । कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको दबाबका कारण मात्रै सत्ताको नेतृत्व लिन तयार रहेको र त्यो प्रयासमा लाग्ने निर्णय गरेको भए पनि कांगे्रसको मुख्य नेतृत्व सरकार गठनको प्रक्रियाका विषयभन्दा निर्वाचनतर्फ नै ध्यान केन्द्रित गर्दै अघि बढेको हो ।
उच्च स्रोतका अनुसार सरकारले ल्याउने तयारी गरिरहेको नीति तथा कार्यक्रम संसद्बाट पास हुन सक्ने सम्भावना नरहेको र त्यो अवस्थामा सरकार फेल हुने र उसले आफूलाई अघि बढाउन सक्ने अवस्था नरहने तथा वैकल्पिक सरकार बन्न सक्ने अवस्था पनि नरहने भएकाले मुलुक निर्वाचनमा नै अघि बढ्ने निष्कर्ष कांग्रेस नेतृत्वको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले निकटका नेतालाई सो विषयबारे जानकारी दिइसकेका छन् । तर, पौडेल–सिटौला पक्षले भने सरकार प्रतिगमनको बाटोमा अघि बढेकाले सरकारको विकल्प खोज्न सभापति देउवालाई दबाब दिँदै आइरहेका छन् ।
उनीहरूकै दबाबका कारण देउवाले जसपा र माओवादी केन्द्रसँगको संवादलाई अघि बढाउन छाडेका छैनन् । ‘कांग्रेस आफैं सरकारको नेतृत्व गर्ने कि निर्वाचनमा जाने भन्नेमा प्रस्ट छैन, हामीसँग वार्ताको प्रयास त औपचारिक मात्रै हो, देउवाजीले पार्टीभित्रको दबाब छल्न हामीलाई बोलाउनु भएकै छ, हामी गएकै छौं,’ जसपाका एक नेताले भने ।
कांग्रेस नेतासमेत नयाँ सरकार गठनका लागि आफ्नो संख्याले मात्रै नपुग्ने भन्दै संख्या सुनिश्चितता नहुँदासम्म सरकार गठनको प्रयास नै व्यर्थ हुने बताउँछन् । देउवा निकट नेता मीन विश्वकर्माले जसपाको अवस्था भरपर्दो नभएको र आफ्नै संख्याले समेत नपुग्ने अवस्था रहँदा सरकार गठनको कसरत सुस्त भएको स्विकार्छन् ।
‘बसेको भनौं भने हिंड्दै छौं, हिंड्दै छौं भनौं भने दौडिन सकेका छैनौं, आफ्नै संख्याले मात्रै पुग्दैन, जसपाको पनि भर देखिएको छैन,’ नेता विश्वकर्माले राजधानीसँग भने । कांग्रेसले शुक्रबार साँझ नयाँ सरकार गठनको प्रयासका विषयमा माओवादी केन्द्र र जसपासँग छलफल गरेको थियो भने औपचारिक रूपमा कांग्रेसले जसपालाई सरकारमा सघाउन आग्रह गरेको थियो । राजधानी दैनिकबाट