महेन्द्रनगर, २९ चैत्र । कोरोना कहरको त्रासदीका बीच भारतको विभिन्न क्षेत्रमा मजदूरीका लागि गएका सुदूरपश्चिमका वासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन् । भारतलगायत तेस्रो मुलुकमा रोजगारीका लागि गएका अधिकांश व्यक्ति विशु पर्व (नयाँ वर्ष) मनाउन घर फर्किने गर्दछन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लामा मौलिक तरिकाले विशु पर्व मनाउने गरिन्छ ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने भीड लाग्न थालेको छ । “अहिले दैनिक एक हजारभन्दा बढी मानिस भारतबाट आइरहेका छन्” उनले भने । सुनारका अनुसार गड्डाचौकीमा सबैको स्वास्थ्य परीक्षणका साथै कोरोना रोगसँग मेल खाने लक्षण देखिए कोरोना परीक्षण गर्ने गरिएको छ ।
एक सातायता गड्डाचौकी नाकाबाट घर फर्किने २६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको उनले जानकारी दिए । “सङ्क्रमितलाई एम्बुलेन्सबाट महाकाली अस्पताल पु¥याएर उपचार गर्ने प्रबन्ध मिलाएका छौँ” उनले भने,“सङ्क्रमित थपिँदै जाने देखिएकाले आइसोलेसन कक्ष बनाउने तयारी पनि छ ।” गत चैत ८ गतेदेखि सीमामा स्वास्थ्य परीक्षण थालिएको बताउँदै उहाँले स्वास्थ्य परीक्षणमा स्वास्थ्य सेवा विभागदेखि भीमदत्त नगरपालिकाबाट समेत जनशक्ति खटिएको जानकारी दिए ।
नयाँ वर्षको अवसरमा यहाँ भव्य रूपमा मनाइने विशु पर्वको रौनक कोरोना कहरसँगै घटेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन सरकारले बन्दाबन्दी गरेपछि गत वर्ष पनि धार्मिक सांस्कृतिक वर्ष विशुको रौनक थिएन ।
यस पर्वमा विवाहित महिला माइत जाने गर्छन् । यस पर्वलाई यस क्षेत्रमा स–परिवार भेटघाट गर्ने पर्वका रूपमा समेत लिने प्रचलन रही आएको साहित्यकार हेमबाबु लेखकले बताए । “नयाँ वर्षमा सकारात्मक कुरा आरम्भ हुने भएकाले यसको धार्मिक महत्व पनि छुट्टै प्रकारको छ” लेखकले भन्नुभयो, “तर कोरोना कहरमा सङ्क्रमणबाट जोगिन सर्तकता अपनाउन आवश्यक छ ।”
सुदूरपश्चिम क्षेत्रमा विशु पर्वका दिन सिस्नु लगाउने प्रचलन रहेको छ । खासगरी देवर र भाउजू तथा साली र भिनाजु एकापसमा सिस्नो लगाउने गरेको साहित्यकार लेखकको भनाइ छ । यसरी सिस्नो लगाउनाले वर्ष दिनभर कुनै पनि सङ्कट नआउने विश्वाससमेत गरिन्छ । रासस