Logo

आँखा अस्पतालका सेवा सुलभ र गुणस्तरीय



काठमाडौं, ३० चैत्र । नेपाल आँखा अस्पताल स्थापनाको ४७ वर्ष पूरा गर्दै गरेको अस्पतालले हाल आँखासम्बन्धी विभिन्न विशिष्टकृत सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालले आगामी दिनमा आँखासम्बन्धी रोग रोकथामका लागि जनचेतना र उपचारका अतिरिक्त अनुसन्धानलाई पनि जोड दिने सोच अघि सारेको छ । गैरनाफामूलक सेवामुखी संस्थाका रुपमा अस्पतालले सेवाग्राहीलाई सुलभ र स्तरीय सेवा दिँदै आएको छ । आँखा उपचारका क्षेत्रमा नेपाल दक्षिण एशियामै अब्बल सेवा उपलब्ध गराउने मुलुकको सूचीमा रहेको अस्पतालका संस्थापक डा पोखरेलले बताए ।

मुख्यतया अन्धोपन अन्त्य गर्ने लक्ष्यका साथ स्थापित गरिएको अस्पतालबाट प्रदान गरिने शल्यक्रिया मध्ये ८७ प्रतिशत मोतियाबिन्दुका हुन्छन् । नेपालमा हाल अन्धोपन कूल जनसङ्ख्याको ०.३५ प्रतिशतमा रहेको अनुमान छ । त्यसलाई आगामी दश वर्षमा २५ प्रतिशत कम गर्ने राष्ट्रिय लक्ष्यमा अस्पतालले सक्दो सहयोग पु¥याउने अठोट गरेको छ ।

मुलुकका ७७ जिल्लामा कुनै न कुनैरुपमा उपचार सेवा पुगेका कारण विगतमा आँखा उपचारका लागि शल्यक्रिया गर्न एक वर्षसम्म पर्खनुपर्ने अवस्था अहिले अन्त्य भइसकेको छ । अस्पतालले सेवा विस्तार गर्ने क्रममा काठमाडौँ उपत्यकामा तीन र सिमरामा सेवा विस्तार गरेको छ । हाल उक्त अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ९४ जना जनशक्ति कार्यरत छन् । सोही क्रममा आँखा स्वास्थ्य शिक्षा र अस्पतालका सेवाबारे प्रचारप्रसार, प्राविधिक कर्मचारी नवीनतम ज्ञानका लागि प्रशिक्षण, विशिष्टकृत सेवा र प्राथमिक आँखा केन्द्र विस्तार तथा स्थानीय तह र सामाजिक सङ्घ संस्थासँग सहकार्य एवं समन्वय गरी अघि बढ्ने रणनीति बनाएको छ ।

नवआगन्तुक आजीवन सदस्यको परिचयात्मक कार्यक्रममा अस्पतालका अध्यक्ष डा पोखरेलले आँखा उपचार सेवालाई थप गुणस्तरीय बनाउने अस्पतालको चाहनालाई साकार तुल्याउन सबैसँग आग्रह गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्