काठमाडौं, ३० चैत्र । नेपाली काँग्रेसका सांसद प्रदीप गिरीले कालापानी क्षेत्रसहित समेटिएर जारी गरिएको चुच्चे नक्शा सतरञ्जको प्यादा मात्र बनाइएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै चुच्चे नक्शा राजनीतिक गोटीका रुपमा मात्र ल्याइएको विश्लेषण गरेका हुन् ।
‘चुच्चे नक्शा सतरञ्जको प्यादा मात्र बनाइयो,’ प्रखर विचारक गिरीले प्रतिनिधि सभाको बैठकमा आज भने,‘चुच्चे नक्शाको बिजोग बनाइयो ।’ उनले नक्शा जस्तै संविधानलाई बिजोग बनाएर जान खोजिएको टिप्पणी गरे ।
गिरीले राष्ट्रिय सहमति बनाएर जान आग्रह गरे । राष्ट्रिय सहमतिको सरकार बनाएर प्रतिनिधि सभालाई पूरै अवधि चल्न दिन आग्रह गरे ।
प्रधानमन्त्री ओलीलाई मेरो गोरुको बाह्रै टक्का नगर्न आग्रह समेत गरे । उनले भने,‘सकुनीको पासा फालेर फेरि पाण्डवलाई जङ्गल पठाएजस्तो संसद बिघटनमा नगइदिनुहोस् ।’