Logo

शोधनान्तर स्थिति ६८ अर्बले बचत



काठमाडौं, चैत ३१ । लामो समयसम्म बाह्य पर्यटन आगमनमा अवरोध हुँदै गए शोधनान्तर बचत घट्न सक्ने र यसले विदेशी विनिमय सञ्चितिमा चुनौती हुन सक्ने संकेत देखिएको छ । चालू आवको फागुनसम्ममा शोधनान्तर स्थिति गत आवको सोही अवधिको तुलनामा बढेको देखिए पनि मासिक वृद्धि भने घट्दै गएकाले यस्तो संकेत देखिएको हो ।

नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको वित्तीय प्रतिवेदनले चालू आवको ८ महीनामा शोधनान्तर स्थिति ६८ अर्बले बचतमा रहेको देखाएको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आवको सोही अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको छ ।

फागुनसम्मको वार्षिक तुलनामा शोधनान्तर बचत बढेको देखिए पनि गत पुस र माघको तुलनामा भने बचत रकम कम देखिएको छ । गत पुसमा शोधनान्तर स्थिति रू। १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको थियो । गत माघमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको थियो । फागुनमा यो बचत झन् कम देखिएको छ ।

यसरी शोधनान्तर स्थितिको बचत रकम मासिक रूपमा घट्दै आएकाले यसले बाह्य क्षेत्रमा चुनौती बढिरहेको संकेत गरेको नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्ट बताउँछन् ।

‘अहिलेसम्म घाटामा त होइन । पोहोरको तुलनामा राम्रै बचतमा छ । तर २ महीनाअघिको हेर्दा यस्तो बचत कम देखियो,’ उनले भने, ‘२ महीनामै शोधनान्तर बचत १२४ अर्बबाट ६८ अर्बमा आउनु धेरै घट्नु हो । २ महीना अघिसम्मको शोधनान्तर सुविधा अहिले रहेन । यो गतिमा जाँदा त शोधनान्तर बचत नहुन सक्छ, विदेशी विनिमय सञ्चितिमा दबाब पर्न सक्छ । अर्को वर्ष अत्यावश्यक वस्तु आयात गर्न बचत बढ्न जरुरी छ । ’

मासिक बचत घट्दै गए आर्थिक वर्षको अन्त्यसम्ममा विदेशी विनिमय सञ्चितिमा प्रभाव पर्छ । अहिले कुल विदेशी विनिमय सञ्चिति फागुन मसान्तमा १४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १२ अर्ब ३७ करोड छ । यो सञ्चितिले आर्थिक वर्ष २०७७/७८ को ८ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.५ महीनाको वस्तु आयात र ११.३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

देशबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढ्दा शोधनान्तर बचतमा जाने गर्छ । यसमा विप्रेषणको पनि ठूलो भूमिका रहन्छ । चालू आवको फागुनमा विप्रेषण आप्रवाह ८ दशमलव ६ प्रतिशतले वृद्धि भई ६ खर्ब ४२ अर्ब १४ करोड पुगेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot