बितेको एक वर्ष नेपाली जनताले सबैभन्दा ठूलो संकटको सामना गर्नुपर्यो । विश्वले नै कोरोना भाइरसको महामारीको सामना गर्दा नेपाल पनि त्यसबाट अछुतो रहेन । सर्वसाधारणमा त्रास मच्चियो । आर्थिक क्षेत्रमा नकारात्मक असर पर्यो । जनताले भोक, रोग र शोकको सामना एकसाथ गर्नुपर्यो । २०७२ सालको महाभूकम्पबाट थलिएर बल्लतल्ल तंग्रिएको देशको अर्थतन्त्रमा ठूलो धक्का पर्यो । हजारौंले ज्यान गुमाए । लाखौं मानिस संक्रमित भए ।
बालबालिकादेखि वृद्धवृद्धासम्मलाई कोरोना महामारीले प्रभावित पा¥यो । झन्डै एक वर्ष बालबालिका विद्यालय जानबाट वञ्चित भए । शिक्षकहरू तलबविहीन अवस्थामा रहे । मजदुरहरूले रोजगारी गुमाए । पर्यटन व्यवसायमा सबैभन्दा नकारात्मक प्रभाव पर्यो । लाखौंले रोजगारी गुमाए । तैपनि, नेपाली जनताले महामारीको सामना गर्दै जिउने अभ्यास गरे । सरकारबाट खासै राहत नपाउँदा पनि जनताले आफ्नै बलबुताले जीवन धाने । अस्पतालहरूमा उपचार खर्च महँगो हुँदा पनि संक्रमितहरू उपचार गर्न बाध्य भए । परीक्षण खर्च आफैंले गर्नुपर्ने, उपचार आफंैले गर्नुपर्ने जस्ता बाध्यात्मक अवस्थाहरू भए । तैपनि, जनताले सहनशीलता देखाए ।
यति हुँदाहुँदै पनि सत्तामा रहेकाहरू जनतालाई राहत दिनुको साटो आन्तरिक खिचातानीमा रुमल्लिए । देश कोरोना महामारीसँग जुधिरहँदा सत्तारूढ दलभित्र सत्तासंघर्ष चलिरह्यो । पटकपटक सत्ताबाट हटाउने र पुग्ने खेलहरू भइरहे । राजनीतिमा मूल्य, मान्यताको खडेरी देखियो । महामारीविरुद्ध राष्ट्रिय सहमति बनाएर जानुपर्ने थियो । त्यस्तो प्रयास सुरुमा भए पनि कार्यान्वयन सही तरिकाले भएन । बरु एकपछि अर्को राजनीतिक समस्याहरू देखिए । ती समस्याहरू राजनीतिक दलहरूभित्रैबाट उत्पत्ति भएका हुन् । नेतृत्वमा रहेकाहरू सत्ता संघर्षको दन्तबजानमा लागिरहे । परिणाम देशले भोगिरह्यो । जनतामा दलप्रति मात्र नभई राजनीतिक व्यवस्थाप्रति नै वितृष्णा पैदा भयो । जनआक्रोश बिस्फोटक बन्दै गयो । यसबीच विश्व फेरि महामारीको पुनरावृत्तिसँगै जुध्नुपर्ने अवस्थामा पुग्यो ।
२०२० को कोरोना महामारीले पहिलो चक्र पार गरेको विश्वले दोस्रो चक्रको सामना गर्दैछ । यसबीच देश राजनीतिक खिचातानीमै अल्मलिएको छ । अर्थतन्त्रमा महामारीले फेरि प्रहार गर्ने खतरा छ । जनतामा त्रास फैलिइसकेको छ । महामारीविरुद्ध लड्न कुनै एक दल, पक्ष या समूहबाट सम्भव छैन । सत्ताको खिचातानीमा अल्झिएमा देशले ठूलो संकटको सामना गर्नुपर्ने हुन सक्छ । राजनीतिक नेतृत्वको सुझबुझले नै त्यो सामना सम्भव छ । यसका लागि सबैबीच सहमतिको आवश्यकता हुन्छ ।
सहमतिको राजनीति संकटका बेलामा झन् अनिवार्य हुन्छ । विगतमा सहमति, सहकार्य र एकताबाट शान्ति प्रक्रिया सम्भव भएको इतिहास साक्षी छ । १० वर्ष लामो हिंसाबाट देशले उन्मुक्ति पायो । दलहरू मिलेर जनआन्दोलन सफल मात्र गरेनन् शान्ति प्रक्रियाका लागि सहमतिको राजनीतिलाई निरन्तरता दिए । परिवर्तनलाई संस्थागत गर्न केही समय सहमतिलाई नै महत्व दिए । तर, सहमतिको राजनीतिलाई तोड्दा फेरि संकट आयो । यसबाट पाठ सिकेर दलहरूले फेरि सहमतिको राजनीति सुचारु गरे । २०७२ सालको महाभूकम्पपछिको संकटसँग लड्दा पनि सिंगो देश एक भयो । महाभूकम्पको सामना गर्ने क्रममा एक भएका राजनीतिक दलहरू संविधान निर्माणका लागि एकजुट भए । २०७२ सालमा संविधान जारी गर्न सफल भए । संविधानसभाबाट संविधान जारी हुँदा राष्ट्रिय सहमति नै मुख्य आधार बनेको थियो ।
देशमा फेरि राजनीतिक तथा आर्थिक संकट आइरहेको छ । यो संकटसँग जुध्न दलहरू फेरि एक ठाउँमा आउनुपर्ने अनिवार्य आवश्यकता भइसकेको छ । समयमै यसलाई मनन् गरेर राष्ट्रिय सहमतिको विकास गरिहाल्नुपर्छ । अन्यथा ढिलो भइसक्छ । सबैले सहमति बनाएर सहमतिको सरकार बनाउँदा उपयुक्त हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यसका लागि तत्परता देखाउनुपर्छ । ओलीले नै आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सामथ्र्य देखाउन सक्नुपर्छ । निषेधको राजनीति लामो समय टिक्दैन भन्ने विगतको घटनाले पुष्टि गरिसकेको छ । इतिहासकै शक्तिशाली प्रधानमन्त्री बनेका ओलीले राजनेता बन्ने उपयुक्त बेला आएको छ । उनले पेलेर होइन मिलाएर जाने बेला आएको छ । यसो गर्न सके देशले जस्तोसुकै संकटको सामना गर्न सक्छ ।
राष्ट्रिय सहमतिका लागि आवश्यक पर्दा त्यागसमेत गर्न सक्नुपर्छ । नेपाली राजनीतिमा त्यागको भावना कमैमात्र नेताहरूमा देखिएको छ । अघिल्लो पुस्तामा गणेशमान सिंहले प्रधानमन्त्री पद नै त्यागेर प्रजातन्त्र बलियो बनाएर २०४७ सालको संविधान निर्माण सफल बनाउने आधार तयार गरिदिएका थिए । सिद्धान्त र आदर्शको राजनीति गरेर लोकतन्त्रलाई मजबुत पार्ने नेताहरू पनि थिए । अहिलेको पुस्तामा त्यस्तै त्यागी नेता देशले खोजिरहेको छ । पदभन्दा ठूलो देश हो भन्ने भावनाका साथ सहमति, सहकार्य र एकताको सूत्र तयार गर्न सक्ने राजनेताको खाँचो छ । जसको त्यागले देशलाई राजनीतिक स्थायित्व प्रदान गर्न सकोस् । सामुन्ने आइरहेको सम्भावित महासंकटबाट जुध्न सकोस् ।-रिपोर्टर्स क्लब नेपालको संस्थागत स्मारिकाको सम्पादकीय